भरतपुरको मौलाकालिका अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको स्वीकार

२०७९ बैशाख २८ बुधबार १३:५५:०० मा प्रकाशित


भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ । भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै कारबाही गर्ने सहमती भएको हो । गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो । मौलाकालिका अस्पतालले उपचारमा लापरबाही गरेर मृत्यु भइसकेपछि कुरुवालाई थाहै नदिई भरतपुर अस्पताल पु¥याएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए ।
मृतकका आफन्त र अस्पताल प्रशासनका बीचमा भएको वार्तामा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ । उपचारमा संलग्न डाक्टरको समूहलाई अस्पताल प्रशासनले तुरुन्त कारबाही गरी सार्वजनिक गर्ने सहमति भएको मृतकका भाई प्रजापति तिवारीले बताउनुभयो । कारबाही प्रचलित कानुनअनुसार गर्ने सहमति भएको उनले बताए । तिवारीले मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन अस्पताल सहमत भएको बताउनुभएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डाक्टर केशवराज भुर्तेल, चिकित्सकहरु र मृतकका परिवारले हस्ताक्षर गरेको सहमति पत्रमा बिरामीको मृत्युपछि परिस्थिति खराब हुन्छ भनेर परिवारसँग सल्लाह नै नगरी सरकारी अस्पताल लैजानु आफनोे कमजोरी भएको अस्पतालले स्वीकार गरेको छ । सहमति पत्रमा बायाँ खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नको लागि उपचारको क्रममा आएका तिवारीलाई अपरेशन कक्षमा लठ्याउने क्रममा अस्पतालबाट अपनाउनुपर्ने सबै सुरक्षाका उपायहरु नअपनाएका कारण बिरामीको मृत्यु भएको उल्लेख गरिएको छ ।
मृतक तिवारी चितवन राष्ट्रिय निकुञ्जको बघौडा मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष हुन् । गत चैत ११ गते स्थानीय सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनी रूखको जरामा अल्झिएर लडेका थिए । लगत्तै माडीको बघौडा अस्पतालमा सामान्य उपचार गरेर उनलाई मौलाकालिका अस्पताल ल्याइएको थियो । खुट्टाको भाँचिएको हड्डी रडले जोडेपछि उनी वैशाखीको सहारामा हिँड्न सक्ने भएका थिए । पाँच दिन अस्पताल बसेर डिस्चार्ज भएका तिवारी ४५ दिनपछि रड झिक्न आएका थिए ।