स्थानीय सरकार आएको ५ वर्षमा कृषि क्षेत्रमा उपलब्धिमूलक काम

२०७९ बैशाख १५ बिहीबार १४:४०:०० मा प्रकाशित

गैँडाकोट । स्थानीय सरकार आएको ५ वर्षमा कृषि क्षेत्रमा केहि सकारात्मक काम भएको पाईएको सरोकारवालाहरु बताउँछन् । उनीहरुले कृषिमा अझै गर्नुपर्ने तर्क गर्छन् । 
करिब २० बर्षपछि आएको स्थानीय सरकारले कृषि क्षेत्रको विकासमा ठुलो फड्को मारेको पाईएको उनीहरु बताउँछन् । कृषकहरुले अपेक्षा गरे अनुसारको काम नभएपनि गैँडाकोट नगरपालिका वडा नम्बर ६ र ११ मा कृषि क्षेत्रमा उपलब्धीमूलक काम भएको कृषक संघ गैँडाकोटका अध्यक्ष तिलक कंडेलले बताए । 
स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा अब आउने जनप्रतिनिधिबाट समय अनुसारको बीउबीजन र किसानहरुलाई रासायनिक मल प्राप्त गर्नका लागि सहज होस् भन्ने कृषकको चाहना छ । जिल्ला कृषि विकास कार्यालय हुँदा किसानहरुलाई भएको सेवासुविधा स्थानीय सरकार आएपछि कटौती भएको उनको गुनासो रहेको छ । रसायनिक मलको अभावका कारण उत्पादन कमि हुने अवस्था सिर्जना हुने देखिएकोले यसमा जनप्रतिनिधिले ध्यान दिन आवश्यक रहेको कँडेलले बताए । 
गैँडाकोट ६ बिन्दाबासिनी कृषक समूहको अध्यक्ष तिलकप्रसाद रिजालले स्थानीय सरकार आएपछि खेतको सिँचाइमा सहजता थपिएको बताए । यसले गर्दा पनि उत्पादन बृद्धिमा टेवा पुगेको उनको भनाई छ । 
वर्षेनी नारायणी नदि किनारका बारीमा गैँडा पसेर बाली नाली नोक्सानी गर्ने समस्या समाधान नहुँदा भने त्यहाँका कृषक चिन्तीत छन् । कृषकका सबै समस्या समाधान हुन्छ भने पनि हुन नसक्नु दुखद् रहेको रिजालले बताए । कृषिका लागि रसायनिक मलको समयमै आपुर्ति नहुने समस्या समाधान भए सहज हुने उनको भनाई छ । रिजालले अब आउने जनप्रतिनिधिले कृषि क्षेत्रमा छुट्टिएको बजेट सम्बन्धित वडाबाट विनियोजन गराउन र बजारिकरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए । 
उत्पादनलाई प्रोत्साहन गर्न, खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि कृषि क्षेत्रको विकासमा सरोकारवालाले ध्यान दिन आवश्यक रहेका कृषकहरुले बताएका छन् ।