च्याउ खेतीमा रमाउँदै महिलाहरु

२०७८ पौष २९ बिहीबार १७:२३:०० मा प्रकाशित


गैँडाकोट। गैँडाकोट नगरपालिका वडा नम्बर ४ का शिवशक्ति महिला समूहका महिलाहरु दुई वर्षदेखी च्याउ खेती गर्दै आईरहेका छन । अरुमा भन्दा च्याउ खेतिमा छोटो समयमा राम्रो आम्दानी हुने देखिपछि महिलाहरु यसतर्फ आकर्षित भएका हुन् ।
घरकै काममा सिमित रहने महिलाहरु समूहमार्फत च्याउ खेतिमा लागेका हुन् । दूईवर्ष पहिले १५ जनाको समूहमार्फत नगरपालिकाको ५० प्रतिशत अनुदान सहितको साढे तीनलाख लगानीमा सुरु गरिएको हो । अहिले सात जनाको समूहमा ६ ओटा टनेलमा च्याउ लगाईएको शिवशक्ति महिला समूहका सचिव प्रमिला भट्ट न्यौपानेले जानकारी दिनुभयो । छोटो समयमा राम्रो आम्दानी गर्न सकिने र धेरै जग्गाको आवश्यक नपर्ने भएकोले च्याउ खेती गर्न थालिएको उहाँको भनाई रहेको छ ।
उहाँले च्याउखेतीबाट प्राप्त भएको आम्दानीबाट सन्तुष्टि रहेको र महिलाको जीविकोपार्जनमा सहज हुँदै गईरहेको बताउनुभयो । आम्दानीको केही प्रतिशत समूहमा जम्मा गरिने र बाँकी खेतीमा संलग्न व्यक्तिलाई वितरण गरिने बताउनुभयो ।   
पहिले बजारिकरणको समस्या रहेको तर अहिले प्रशस्त मात्रामा माग भईरहेको बताउनुभयो । मौसमी समयमा मात्र गर्दै आइरहेको च्याउ खेती अब बेमौसमी समयमा पनि गर्ने योजनामा रहेको उहाँको भनाई छ ।