न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गर्दै अमर बचतले मनायो २३औँ वार्षिकोत्सव

२०७८ पौष १८ आइतबार १७:०७:०० मा प्रकाशित


गैँडाकोट । न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गर्दै अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सव मनाएको छ । २३औँ वार्षिकोत्सवको अवसरमा गैँडाकोट १८ हुर्जिल स्थित श्री त्रिशुली आधारभुत विद्यालयका ३१ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका सचिव श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । विद्यार्थीलाई स्विटर, झोला, कपि, कलम लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।  
अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रजापति कंडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।  
प्रमुख अतिथि गैँडाकोट १८ का वडासदस्य चामबहादुर सुनारीले विद्यालय र सहकारीबीच सम्बन्ध विस्तार गर्दै सहयोग प्रदान गरेकोमा सहकारीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बेलबहादुर बाचे, समाजसेवी पदमबहादुर आले वीरबहादुर मगर, सहकारीका संस्थापक अध्यक्ष हरिदत्त पाध्या, सल्लाहकारहरु यमलाल कंडेल, तेजेन्द्रप्रसाद सापकोटा, विनोदकुमार मल्ल, लेखा समिति सदस्य निता शर्मा, पूर्व सञ्चालक श्रीराम पराजुली, प्रधानाध्यापक विष्णु अधिकारी लगायतको उपस्थिती रहेको थियो । 
संस्थाको उपाध्यक्ष यमप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा अमर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक देवेन्द्र गौतमले सहकारीका वित्तीय र गैर वित्तीय गतिविधिबारे जानकारी गराउनुभएको थियो ।