स्कुल बसको ठक्करबाट गैँडाकोटमा एक युवकको मृत्यु
नवलपरासी पूर्व । गैँडाकोट ईङ्लिस स्कुलको बसको ठक्करबाट गैँडाकोटका एक युवकको मृत्यु भएको छ । उपचारको क्रममा मृत्यु भएका युवा गैँडाकोट नगरपालिका वाड नं. ६ निवाशी राजु थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान करिब ८ः३० बजे गैँडाकोट नगरपालिका–५, कुसुमपाटस्थित भित्री सडकखण्डमा गैँडाकोट इङ्लिस स्कुलको बस र मोटरसाइकल ठोक्किएका थिए ।
कालिकाचोकबाट श्रीराम प्यालेसतर्फ जाँदै गरेको ग १ ख ३९७० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ४५७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गैँडाकोट-६ निवासी २३ वर्षीय राजु थापा गम्भीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेका उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा बिहान ९ः३४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बस चालक गैँडाकोट-१, धारापानी निवासी ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिएको छ ।