बाल अधिकार र कर्तव्य सम्बन्धी सचेतना प्रदान

२०७८ मङ्सिर ४ शनिबार १७:४२:०० मा प्रकाशित


गैँडाकोट । गैंडाकोट नगरपालिका वडा नं. १ को कार्यालय र कोपिला नेपाल पोखराको संयुक्त आयोजनामा  अन्तर्राष्ट्रिय बाल अधिकार दिवस नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालयको सभाकक्षमा बाल अधिकार र कर्तव्य सम्बन्धी सचेतना मूलक कार्यक्रमका साथ मनाइएको छ । 
कार्यक्रममा गैंडाकोट नगरपालिकाका विद्यालय र टोल विकास अन्तर्गतका २० वटा बाल क्लवहरुबाट एक सय तीस जना बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रममा बाल अधिकार र बाल बालिकाका कर्तव्यको बारेमा नारायणी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक एवं बाल संरक्षण समिति गैंडाकोट वडा नं १ का सदस्य जगन्नाथ उपाध्यायले बाल बालिकाहरुलाई प्रशिक्षण दिनु भएको थियो । 
गैंडाकोट वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोपिला नेपाल गैंडाकोट नगरपालिका संयोजक मधु रानाभाट, जौजुवा बाल क्लवका अध्यक्ष ओम विक्रम पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कृष्णराज भट्टराईले सहजीकरण गर्नु भएको थियो ।