बाढीले बगाएर ल्याएको काठ-दाउरा संकलन नगर्न वन कार्यालयको आग्रह

२०८३ भदौ १८ बिहीबार १९:१७:०० मा प्रकाशित

गैँडाकोट । डिभिजन वन कार्यालय नवलपुरले बाढीले बगाएर ल्याएको काठ, दाउरा तथा अन्य काठजन्य वन पैदावार जथाभावी संकलन, ओसारपसार तथा बिक्री वितरण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनामा रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा आएको विनाशकारी बाढीका कारण विभिन्न वन क्षेत्रबाट बगाएर ल्याइएका तथा ढलेका गोलिया काठ, दाउरा र अन्य काठजन्य वन पैदावार नारायणी नदी तथा नदी किनारका विभिन्न स्थानमा थुप्रिएको जनाएको छ ।


विशेषगरी नारायणी नदीको किनारमा थुप्रिएका काठ नदीको बहाव तथा जोखिमयुक्त स्थानमा रहेकाले सर्वसाधारणले ज्यानको जोखिम मोलेर नदी वा नदी किनारमा प्रवेश गरी काठ निकाल्ने, तान्ने, काट्ने, उठाउने, ओसारपसार गर्ने, बिक्री वितरण गर्ने वा आफ्नो स्वामित्वमा लिने कार्य नगर्न कार्यालयले सचेत गराएको छ । 
डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत विष्णु प्रसाद अधिकारीका अनुसार बाढीले बगाएर ल्याएका काठ-दाउरालाई आफुखुसी संकलन गर्ने, चोरीनिकासी, बिक्री वितरण वा अन्य कुनै किसिमले प्रयोग गरेको पाइएमा प्रचलित वन ऐन, वन नियमावली तथा गण्डकी प्रदेशका सम्बन्धित वन कानुनबमोजिम कारबाही गरिनेछ । 


त्यस्तै, आगामी दिनमा पुनः बाढी आउन सक्ने र काठबाहेक मानव बस्ती, पुल, सडक तथा तटबन्धजस्ता संरचनामा समेत क्षति पुग्न सक्ने भएकाले नदी तथा नदी किनारबाट जोखिमपूर्ण तरिकाले काठ नउठाउन कार्यालयले अनुरोध गरेको छ। 


डिभिजन वन कार्यालयले बाढीले बगाएर ल्याएका काठ तथा दाउराको पहिचान, लगत संकलन, नापजाँच, सुरक्षित संकलन तथा व्यवस्थापनका लागि सम्बन्धित डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय, सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय तहलाई आवश्यक सहयोग गर्नसमेत आग्रह गरेको छ । 


कार्यालयले बाढीले ल्याएको काठ-दाउरा भेटिएमा आफैं उठाउनुको सट्टा नजिकको वन कार्यालय, प्रहरी वा सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन अनुरोध गरेको छ।