छोरीलाई बाँच्न देऊ

२०८३ भदौ ६ शनिबार १८:११:०० मा प्रकाशित

   म पनि एउटी छोरी हुँ । त्यसैले तीन वर्षीया गरिमा चौधरीको मृत्युको खबर पढ्दा मैले एउटा समाचार मात्र पढिनँ । मैले एउटा अबोध छोरीको असुरक्षित संसार पढेँ, एउटी आमाको रित्तिएको काख सम्झिएँ र मान्छेको आवरणभित्र लुकेको एउटा नरपिशाच देखेँ । उमेरले उनी मभन्दा धेरै सानी थिइन्, तर ‘छोरी’ हुनुको सम्बन्धले उनको पीडा आफ्नै पीडाजस्तो लाग्यो । मनले बारम्बार एउटै प्रश्न गरिरह्यो ,आखिर छोरी भएर जन्मिनु किन यति ठूलो जोखिम बन्दै गइरहेको छ?
बाराको जितपुर सिमरा उपमहानगरपालिका १, भक्तिनगरकी तीन वर्षीया गरिमा साउन ३१ गते बिहान घरबाट बेपत्ता भएकी थिइन् । परिवारले खोजी गरिरह्यो । दुई दिनसम्म उनको कुनै खबर आएन । भदौ २ गते साँझ उनी त्यही क्षेत्रको एउटा खाली घरमा मृत अवस्थामा भेटिइन् । प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै दुई जनालाई पक्राउ गरेको समाचार सार्वजनिक भएको छ । घटनापछि स्थानीयमा आक्रोश फैलियो, न्यायको माग गर्दै प्रदर्शन भएका छन्  र अनुसन्धानमा लापरवाही भएको भन्दै प्रहरीको भूमिकामाथिसमेत प्रश्न उठिरहेको  छ ।
कहिलेकाहीँ कुनै समाचार पढेर आँखा  मात्रै रसाउँदैनन् , मनभित्र एउटा प्रश्न गाडिएर बस्छ । बाराकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको खबरले मेरो मनभित्र  त्यस्तै प्रश्न  जन्माएको छ ,“आखिर हामीले कस्तो समाज निर्माण गरिरहेका छौँ, जहाँ तीन वर्षकी बालिकासमेत सुरक्षित छैनन् ? तीन वर्षकी बालिका जसलाई संसारको छलकपट थाहा हुँदैन । सम्बन्धहरूको जटिलता थाहा हुँदैन । राम्रो र नराम्रो नियत छुट्याउने क्षमता हुँदैन । उनको संसार भनेको सायद आमाको काख, घरआँगन, खेलौना र केही साना रहरहरू मात्रै हो । यस्तो उमेरमा एउटी बालिकाले हिंसा होइन, माया पाउनुपर्ने हो, डर होइन, सुरक्षा पाउनुपर्ने हो, मृत्यु होइन, जीवनको लामो बाटो पाउनुपर्ने हो तर गरिमाले त्यो अवसरसमेत पाइनन् ।

यस्तो घटना हुँदा हाम्रो समाज केही समयका लागि आक्रोशित हुन्छ । सामाजिक सञ्जालमा पोस्टहरू आउँछन्, दोषीलाई फाँसी देऊ भन्ने आवाज उठ्छ, सडकमा प्रदर्शन हुन्छ, सरकारलाई प्रश्न गरिन्छ । केही दिनपछि अर्को घटना आउँछ र पुरानो घटना बिस्तारै समाचारको भीडमा हराउँछ  तर पीडित परिवारका लागि त्यो घटना कहिल्यै पुरानो हुँदैन । एउटा बच्चा गुमाउनु भनेको  समाचारको हेडलाइन बन्नु मात्र होइन,एउटा परिवारको जीवनभरको संसार भत्किनु हो तर गरिमाको घटनालाई केवल एउटा परिवारको दुःखका रूपमा हेरेर हामी उम्कन मिल्दैन । यसले हाम्रो समाजमा गहिरोसँग जरा गाडेको एउटा सोचमाथि प्रश्न उठाएको छ, हामी छोरीलाई कसरी हेर्छौँ?
हामी छोरीलाई देवी भन्छौँ, लक्ष्मी भन्छौँ, सम्मानको प्रतीक मान्छौँ  तर व्यवहारमा भने छोरीलाई सधैँ ‘सावधान’ हुनुपर्ने व्यक्ति बनाइरहेका छौँ । कहाँ निस्कने, कसरी हिँड्ने, कस्तो लुगा लगाउने, कति बजे घर फर्किने? छोरीको जीवनमा नियमको सूची बढ्दै जान्छ । उसको सुरक्षाको नाममा उसको स्वतन्त्रता सीमित गरिन्छ तर अपराध गर्ने व्यक्तिको मानसिकता परिवर्तन गर्ने जिम्मेवारीचाहिँ कसले लिने?अझै पनि महिलामाथि हिंसा भयो भने पहिलो प्रश्न अपराधीलाई होइन, पीडितलाई गरिन्छ ।कस्तो लुगा लगाएकी थिई? कहाँ गएकी थिई? एक्लै किन गएकी थिई? कससँग थिई? तर गरिमाको घटनाले यी प्रश्नहरूको आधार नै भत्काइदिएको छ । तीन वर्षकी बालिकालाई हेरेर हामी कुन पहिरन खोज्ने? उनको कुन व्यवहारलाई दोष दिने? उनले कसलाई उत्तेजित पारिन् ? उनले के गल्ती गरिन् ? त्यसैले आज हामीले स्पष्टसँग भन्नुपर्ने बेला आएको छ ,नारीमाथि हुने हिंसाको कारण नारीको पहिरन होइन, अपराधीको मानसिकता हो । छोटो लुगा लगाएकी महिलामाथि अपराध हुन्छ भनेर तर्क गर्ने समाजले अब तीन वर्षकी बालिकाको घटनामा के तर्क गर्छ? यो प्रश्नको उत्तर खोज्दा मात्र हामीले हाम्रो सामाजिक सोचको विकृति देख्न सक्छौँ । पीडितको पहिरन, चालढाल वा जीवनशैलीलाई अपराधको कारण देखाउने प्रवृत्ति वास्तवमा अपराधीलाई जोगाउने अप्रत्यक्ष बाटो हो ।

 यहाँ त प्रश्न यस्तो समाजको हो कि जहाँ छोरी हराउनु भनेको एउटा बच्चा हराउनु मात्र नभई सम्भावित  यौनहिंसाको त्राससँग लड्नु पनि हो र गरिमाको निर्मम घटनाले यही त्रासलाई फेरि कठोर यथार्थमा उभ्याइदिएको छ  ।एउटा सभ्य समाजका लागि यो आफैँमा लज्जाको विषय हो । छोरीलाई जंगलमा, बाटोमा, विद्यालयमा, सार्वजनिक यातायातमा वा अपरिचित ठाउँमा पठाउँदा आमाबुबाले उसको सुरक्षाभन्दा पहिले सम्भावित यौनहिंसाको कल्पना गर्नुपर्ने अवस्था किन आयो? गरिमाको मृत्युले निर्मला पन्तको पीडालाई पनि फेरि सम्झाइदिएको छ । निर्मला पनि एउटी छोरी थिइन्, जसको जीवन खोसिएको वर्षौँ बितिसक्दा पनि उनको परिवार न्यायको प्रतीक्षामा छ । त्यतिबेला पनि सरकारसँग जवाफ मागियो, सडकमा आवाज उठ्यो, दोषी पत्ता लगाएर कारबाही गर्न दबाब दिइयो तर समय बित्दै गयो, सरकार फेरिए, राजनीतिक प्राथमिकताहरू फेरिए, निर्मलाको न्यायको प्रश्न भने उस्तै रह्यो । एउटा पीडितले न्याय नपाउनु केवल एउटा परिवारको पीडा होइन, यो कानुनी राज्यकै उपहास हो । जब अपराधको सत्य स्थापित हुन सक्दैन, दोषी कानुनको कठघरामा उभिन सक्दैन वा पीडितले वर्षौँसम्म न्याय पर्खिरहनुपर्छ, तब नागरिकको राज्यप्रतिको विश्वास कमजोर हुन्छ । अझ गम्भीर कुरा, यस्तो अवस्थाले दण्डहीनताको संस्कृतिलाई बल पु¥याउँछ र अपराध गर्न खोज्ने व्यक्तिको मनोबलसमेत बढाउन सक्छ । “अपराध गरे पनि उम्किन सकिन्छ’ भन्ने गलत सन्देश फैलिन सक्छ । त्यसैले गरिमाको घटनामा सरकारको परीक्षा केवल दोषी पक्राउ गर्नेमा छैन,सत्य बाहिर ल्याउने, निष्पक्ष अनुसन्धान गर्ने र पीडित परिवारलाई समयमै न्याय दिलाउने क्षमतामा छ । निर्मलाको पीडाबाट राज्यले पर्याप्त पाठ सिक्न नसकेको हो भने गरिमाको घटनालाई फेरि अर्को अधुरो न्यायको कथा बन्न दिनु हुँदैन । किनकि एउटी छोरीलाई न्याय दिन नसक्ने राज्यले हजारौँ छोरीलाई सुरक्षित छु भनेर कसरी विश्वास दिलाउन सक्छ? यही प्रश्नले हामीलाई कानुनतर्फ पनि लैजान्छ । यस्ता घटना भएपछि ‘कानुन अझ कडा हुनुपर्छ’ भन्ने आवाज उठ्नु स्वाभाविक हो तर केवल कानुन कडा बनाउनु पर्याप्त हुन्छ? कडा कानुन भएर पनि अपराधीले कानुनको डर महसुस गर्दैन भने त्यो कानुनको कठोरता कागजमा मात्र सीमित रहन्छ । त्यसैले अब हाम्रो बहस ‘सजाय कति कडा बनाउने?’ भन्दा अघि बढेर ‘अपराध हुन नदिने वातावरण कसरी बनाउने?’ भन्ने हुनुपर्छ । अनुसन्धान प्रभावकारी हुनुपर्छ । न्याय छिटो र पीडितमैत्री हुनुपर्छ । अपराधीले कानुनको पहुँचबाट उम्किन सक्दैन भन्ने विश्वास समाजमा स्थापित हुनुपर्छ । बालबालिकाको सुरक्षा राज्यको प्राथमिक विषय बन्नुपर्छ । विद्यालयमा यौन हिंसा र सुरक्षित व्यवहारसम्बन्धी उमेरअनुकूल शिक्षा हुनुपर्छ । अभिभावकलाई पनि बाल संरक्षणसम्बन्धी सचेतना आवश्यक छ  र सबैभन्दा महत्वपूर्ण कुरा त छोरा र छोरीलाई हुर्काउने हाम्रो सामाजिक दृष्टिकोणमा परिवर्तन आउनुपर्छ ।
छोरीलाई ‘तिमीले आफ्नो शरीर जोगाउनुपर्छ’ भनेर मात्रै सिकाएर पुग्दैन । छोरालाई ‘अरूको शरीरमाथि तिम्रो अधिकार छैन’ भनेर सिकाउनुपर्छ । छोरीलाई ‘साँझमा बाहिर नजानू’ भनेर मात्र सुरक्षा हुँदैन । छोरालाई ‘कसैको इच्छाविपरीत एक पाइला पनि अगाडि नबढ्नु’ भन्ने संस्कार दिनुपर्छ । हामीले छोरीलाई सुरक्षित राख्ने नाममा उसको संसार सानो बनाइरहेका छौँ । अब त्यसको सट्टा समाजलाई सुरक्षित बनाउनुपर्ने बेला आएको छ ।छोरीले छोटो लुगा लगाउँदा समाज असुरक्षित हुने होइन वास्तविकता त के हो भने  कसैको आँखामा महिलालाई वस्तुका रूपमा हेर्ने दृष्टि जन्मिँदा समाज असुरक्षित हुन्छ । छोरी साँझमा घरबाहिर निस्कँदा समाज असुरक्षित हुँदैन, कुनै पुरुषले आफ्नो विकृत इच्छालाई अरूमाथि थोपर्नुलाई अधिकार ठान्दा समाज असुरक्षित हुन्छ । त्यसैले छोरीलाई बन्देज लगाउनु समाधान होइन । अपराधीको सोच बदल्नु समाधान हो ।
 गरिमाको उमेर तीन वर्ष थियो । उनले आफ्नो सुरक्षाका लागि आवाज उठाउन सक्ने अवस्था पनि थिएन । त्यसैले आज उनको आवाज हामीले उठाउनुपर्छ तर त्यो आवाज केही दिनको सामाजिक सञ्जालको आक्रोशमा सीमित हुनु हुँदैन । त्यो आवाज कानुन निर्माणमा सुनिनुपर्छ, न्यायालयसम्म पुग्नुपर्छ, विद्यालयको पाठ्यक्रममा पुग्नुपर्छ, परिवारको संस्कारमा पुग्नुपर्छ र हाम्रो दैनिक व्यवहारमा देखिनुपर्छ । कानुन परिवर्तन गर्ने हो कि होइन भन्ने प्रश्नसँगै हामीले एउटा अर्को प्रश्न सोध्नुपर्छ, हामी आफैँ परिवर्तन हुने हो कि होइन?किनकि कानुनले अपराधीलाई सजाय दिन सक्छ तर समाजको सोचले अपराध जन्मिनुअघि नै त्यसलाई रोक्न सक्छ । गरिमाको मृत्युले हामीलाई केवल रुवाएको छैन , उसले हामीलाई लज्जित पनि बनाएको छ । तीन वर्षकी बालिकालाई सुरक्षित राख्न नसक्ने समाजले आफूलाई सभ्य समाज कसरी भन्न सक्छ? छोरी जन्मिएपछि उसको आमाले ‘मेरी छोरी सुरक्षित रहोस्’ भनेर जीवनभर डराइरहनुपर्ने अवस्था कहिलेसम्म? छोरीलाई सुरक्षित भएर बाँच्न देऊ ।उसलाई आफ्नो संसार सानो पार्न बाध्य नबनाऊ । उसलाई आफ्नो पहिरनको लम्बाइबाट सुरक्षा नखोजाऊ । उसलाई साँझको समयसँग डराउन नलगाऊ । उसलाई हरेक अपरिचित पुरुषबाट डराउन सिकाएर मात्र समाज सुरक्षित हुँदैन । समाज तब सुरक्षित हुन्छ, जब अपराधीले अपराध गर्ने सोचमै डराउँछ ।
त्यसैले अब प्रश्न छोरीलाई होइन, समाजलाई गरौँ छोरीलाई सावधान  होइन, अपराधीलाई सावधान गरौँ,छोरीको पहिरन होइन, अपराधीको मानसिकता बदलौँ, र कानुनलाई मात्र होइन, हाम्रो संस्कारलाई पनि कठघरामा उभ्याऔँ  ।गरिमा फर्केर आउने छैनन् । यो सत्य अत्यन्त पीडादायी छ तर उनको मृत्यु व्यर्थ नहोस् । उनको मृत्युले कम्तीमा यति परिवर्तन ल्याओस् कि भोलि कुनै आमाले आफ्नी तीन वर्षकी छोरीलाई हेरेर ‘कतै केही होला कि’ भनेर डराउन नपरोस् । बरु उसले निर्धक्क भएर भन्न सकोस् कि “छोरी, यो संसार तिम्रो पनि हो । तिमीलाई यहाँ डराएर होइन, सुरक्षित भएर बाँच्ने अधिकार छ ।”

रञ्जना लामिछाने 
सहायक प्राध्यापक, बालकुमारी कलेज, नारायनगढ ,चितवन