गैँडाकोटमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
गैँडाकोट। जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को आयोजनामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संघको १६ औँ स्थापना दिवसका अवसरमा बुधबार गैँडाकोट नगरपालिकाको सभाहलमा आन्तरिक राजस्व कार्यालय कावासोतीको प्राविधिक सहयोग तथा गैँडाकोट नगरपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले व्यवसायीलाई करसम्बन्धी ज्ञान र राज्यका नीति–नियमबारे जानकारी आवश्यक रहेको बताउनुभयो।
गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले व्यवसाय सञ्चालनमा कर प्रणालीबारे स्पष्ट जानकारी हुनु आवश्यक रहेको बताउँदै कर तिर्ने संस्कारले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। उहाँले व्यवसायीका समस्या समाधानका लागि नगरपालिका र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
संघका अध्यक्ष छवि कँडेलले व्यवसायीका समस्या समाधानका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो।

आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख कर अधिकृत युगल किशोर गौतमले आर्थिक ऐन २०८३ ले उपलब्ध गराएका करसम्बन्धी व्यवस्था, व्यवसायीलाई कर दर्ता, कर विवरण दाखिला, आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्कलगायत करसम्बन्धी प्रावधानबारे जानकारी दिनुभयो ।
सीए निशान पौडेलले व्यवसाय दर्ता, सञ्चालन तथा नवीकरणका विषयमा सहजीकरण गर्नुभयो भने सीए अनुप अर्यालले कम्पनी दर्ता तथा कम्पनी रजिस्ट्रारसम्बन्धी प्रक्रियाबारे जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीले कर तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या , कर प्रणालीमा देखिएका समस्या, प्रक्रिया तथा व्यवहारिक कठिनाइबारे प्रश्न राखेका थिए।
संघका उद्योगतर्फका उपाध्यक्ष दीपककुमार भट्टराईले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभयो।
जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष छबिलाल कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पदाधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।
वरिष्ठ उपाध्यक्ष तेजनारायण पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण महासचिव माधवप्रसाद सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
