सामुदायिक रेडियो विजय एफएम २३ औँ वर्षमा
नवलपुर । सामुदायिक रेडियो विजय एफएम १०१.६ आजदेखी २३ औँ वर्षमा प्रवेश गरेको छ । सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तिकरणको मूल आधार भन्ने भावसहित २०५७ सालमा परिकल्पना गरिएको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ आज भन्दा २२ वर्षअघि २०६१ साल भाद्र ५ गतेदेखी सञ्चालनमा आएको हो ।
मध्ये नेपालमा अवस्थित विजय एफएम विश्वसनीयताको आधार र स्थानीयको साझेदारका रुपमा काम गरिरहेको छ । एक वर्षको अवधिमा १० हजार ५ सय भन्दा बढी मानिसहरूले प्रत्यक्ष सहभागिता जनाइ सामुदायिक रेडियो विजय एफ.एम. १०१.६ मार्फत आफ्ना विचार, धारणा, सरोकार र समस्याहरू प्रकट गरेको रेडियोका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले अभिलेख राखिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय सरोकार, शिक्षा, स्वास्थ्य, वातावरण तथा दिगो विकास, सुशासन र लोकतान्त्रिक मूल्य मान्यताको स्थापना र प्रवर्धन, न्यायपूर्ण समाज, वित्तीय सचेतना, धार्मिक तथा भाषिक उत्थान, बालमैत्री स्थानीय शासन, पठन संस्कृति अभियान, बालबालिकाको प्रतिभा प्रस्फुटन लगायतका कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
स्टेशन म्यानेजर उपाध्यायले सार्वजनिक शिक्षा, जनस्वास्थ्य, वित्तीय सचेतना, आधुनिक कृषि, वातावरण संरक्षण, समतामूलक र न्यायिक समाज, बालमैत्री स्थानीय शासन, द्वन्द्व न्यूनीकरण, सबै खालका भेदभाव र हिंसाको न्यूनीकरण, स्थानीय सुशासन, स्थानीय विकास र विकासका प्राथमिकता, कला, साहित्य र परम्परागत नेपाली संस्कृतिको संरक्षण, स्वच्छ निर्वाचन लगायतका विविध विषयमा नागरिकका विचारहरू संकलन, प्रशोधन तथा प्रसारण गरिएको बताउनुभयो ।
संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिवद्ध रहेको बताउनुभएको छ । सामाजिक सञ्जालका कारण रेडियोका श्रोता केही कम भएपनि यस क्षेत्रमा विजय एफएम उत्तिकै लोकप्रिय रहेको बताउँदै विश्वसनियताका लागि पनि रेडियो सुन्ने गरेको बताउनुभयो । उहाँले रेडियोलाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गर्नुभएको छ ।
रेडियो तरङ्गसँगै वेभसाइट, फेसबुक, युट्युब, हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्समार्फत समेत रेडियोका सामग्री अझ प्रभावकारी रुपमा सुन्न सकिने बनाउने अध्यक्ष सापकोटाले बताउनुभएको छ ।
यस सञ्चार माध्यमले शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैंिगक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ ।