गैंडाकोटमा बाल संस्कार तथा योगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८३ श्रावण १६ शनिबार १७:२०:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटमा बाल संस्कार तथा योगसम्बन्धीअभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गैंडाकोट नगरपालिका वडा नम्बर ६ को आयोजना तथा झुलेनी योग साधना केन्द्रको सहकार्यमा शनिबार नमुना शिवनगर खानेपानीको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ६ भित्रका बालबालिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाहरूलाई योग, ध्यान तथा असल संस्कारका विषयमा जानकारी गराउँदै सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको महत्वबारे अभिमुखीकरण गरिएको थियो।


कार्यक्रमका प्रशिक्षक भिमनिधि शर्माले बालबालिकाहरूलाई योग तथा ध्यानसँगै बाल संस्कारको आवश्यकता र यसको महत्वका बारेमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक शर्माले  अहिलेको समयमा बालबालिकाहरू विभिन्न प्रविधि र सामाजिक परिवेशसँग जोडिँदै गएको अवस्थामा उनीहरूलाई सकारात्मक सोच, अनुशासन र असल संस्कारतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।


कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईंले वडाले आयोजना गरेको कार्यक्रममा बालबालिकाहरूको उत्साहजनक सहभागिता देखेर आफू खुसी भएको बताउनुभयो। उहाँले बालबालिकालाई सानै उमेरदेखि योग, ध्यान र असल संस्कारका विषयमा जानकारी गराउन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभयो।
कार्यक्रममा बालबालिका, अभिभावक, वडाका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

ताजा खबर