विजय सामुदायिक शिक्षा सदनमा डिजिटल मतदानमार्फत निर्वाचन, स्कुल क्याप्टेनमा नाउमी र संकल्प निर्वाचित 

२०८३ जेठ २७ बुधबार १९:१७:०० मा प्रकाशित

गैँडाकोट । विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र २०८३ का लागि डिजिटल मतदान प्रणालीमार्फत विद्यालयस्तरीय निर्वाचन सम्पन्न भएको छ । “नेतृत्वका लागि मतदान” र “तिम्रो आवाज, तिम्रो भविष्य” भन्ने नारासहित आयोजित निर्वाचनले विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यास तथा नेतृत्व विकासको अवसर प्रदान गरेको विद्यालयले जनाएको छ ।


निर्वाचनमा कुल ३८० मत खस्नुपर्नेमा ३४४ मत खसेको थियो । निर्वाचनको नतिजाअनुसार छात्रातर्फ नाउमी सुनार १७५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने छात्रतर्फ संकल्प अधिकारी १८० मतसहित निर्वाचित हुनुभएको छ ।
त्यस्तै, हाउसतर्फ सगरमाथा हाउसको क्याप्टेनमा सोनम मगर र भाइस क्याप्टेनमा निकिता घिमिरे, धौलागिरी हाउसको क्याप्टेनमा सुशान्त मापछन र भाइस क्याप्टेनमा आर्यन गौतम, अन्नपूर्ण हाउसको क्याप्टेनमा यशिका श्रेष्ठ र भाइस क्याप्टेनमा दिपेश श्रेष्ठ, मकालु हाउसको क्याप्टेनमा लेबिन गुरुङ र भाइस क्याप्टेनमा आरुष शर्मा चयन हुनुभएको छ ।


निर्वाचन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य टीकाराम कँडेल, सह-प्रधानाध्यापक बिकल सापकोटा, प्राथमिक ब्लक इन्चार्ज सपना पुनले विजयी विद्यार्थीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले विद्यालयको अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउन नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विद्यार्थीलाई सानै उमेरदेखि लोकतान्त्रिक प्रक्रिया र निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।


निर्वाचन अधिकृतको जिम्मेवारी सामाजिक विषय प्रमुख विष्णु श्रेष्ठले निर्वाह गर्नुभएको थियो । त्यस्तै, पोलिङ अधिकृत प्रशान्त रेग्मी र प्राविधिक प्रमुख कमल भण्डारी रहनुभएको थियो । कार्यक्रम पूर्व स्कुल क्याप्टेन सम्राट अर्यालको सभापतित्वमा भएको थियो ।