प्रथम गैंडाकोट नगर स्तरीय कराँते प्रतियोगिता–२०८३ यहि शुक्रबार हुने
गैंडाकोट, नवलपुर । गैंडाकोट नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल कराँते महासंघ गैंडाकोट नगर कराँते समितिको समन्वयमा प्रथम गैंडाकोट नगर स्तरीय कराँते प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिता यहि २९ गते शुक्रबार बिहान ७ः०० बजे गैंडाकोट–६ स्थित नमुना शिवनगर खानेपानी हलमा सञ्चालन हुने नगर खेलकुद विकास समिति सदस्य एवं कार्यक्रमका संयोजक राजकुमार कुमालले जानकारी दिनुभयो ।
“अनुशासन हाम्रो पहिचान, कराँते हाम्रो शान” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालय, कराँते डोजो तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा कराँतेका विभिन्न काता र कुमिते विधामा प्रतिस्पर्धा गराइनेछ।
कराँते केवल खेल मात्र नभई स्वस्थ जीवन, आत्मरक्षा, अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेमको माध्यम भएको उल्लेख गर्दै आयोजकले युवापुस्तालाई खेलकुदमार्फत सकारात्मक मार्गतर्फ अग्रसर गराउने उद्देश्य राखेको जनाएको छ। नेपाल कराँते महासंघले अघि सारेको “कराँते हाम्रो जीवनशैली” अभियानलाई आत्मसात गर्दै स्वास्थ्य, अनुशासन, आत्मरक्षा, सामाजिक सद्भाव तथा आध्यात्मिक विकासका पक्षलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकका अनुसार यस प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा कराँते खेलप्रति युवाहरूको आकर्षण बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
“खेलकुद राष्ट्रको पहिचान, कराँते अनुशासनको सम्मान” भन्ने सन्देशका साथ आयोजना हुन लागेको प्रतियोगिताले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा टेवा पु¥याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
नगर खेलकुद विकास समिति सदस्य एवं कार्यक्रमका संयोजक राजकुमार कुमालले सम्पूर्ण नागरिक, खेलाडी, अभिभावक, खेलप्रेमी तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गर्नुभएको छ।