जनक नमुना माध्यमिक विद्यालयमा अभिभावक लक्षित बालमैत्री असल संस्कार कार्यक्रम सम्पन्न

२०८३ जेठ २४ आइतबार १९:१५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ को आयोजनामा जनक नमुना माध्यमिक विद्यालयमा अभिभावक लक्षित बालमैत्री असल संस्कार कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नैतिक शिक्षा, अनुशासन, सकारात्मक सोच तथा व्यवहारिक जीवनशैली सम्बन्धी ज्ञान कसरी प्रदान गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिएको थियो । यसअघि शनिबार सोही विद्यालयमा बालबालिकाका लागी असल संस्कार सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।

 

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि असल संस्कार अपरिहार्य रहेको बताउँदै त्यसमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले बालबालिकासँगै अभिभावकहरूलाई पनि संस्कारमूलक शिक्षाबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै बालबालिकाको समुचित विकासका लागि विद्यालय, परिवार र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो।

 

कार्यक्रमका प्रशिक्षक गोपालप्रसाद भण्डारीले बालमैत्री असल संस्कार शिक्षासम्बन्धी व्यवहारिक प्रशिक्षण दिनुभएको थियो। उहाँले बालबालिकाको दैनिक जीवनशैली, समय व्यवस्थापन, अभिभावक तथा ज्येष्ठप्रति सम्मान, सामाजिक उत्तरदायित्व र सकारात्मक बानीहरूको विकासका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो। साथै, असल संस्कारले व्यक्तिको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने भएकाले बालबालिकालाई सानै उमेरदेखि संस्कारमूलक शिक्षामा जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

 

कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ति न्यौपाने, वडा सहायक कर्मचारी मणिरत्न सापकोटा लगायत ४० भन्दा बढी अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी अभिभावकहरूले कार्यक्रमबाट प्राप्त ज्ञान र सिकाइलाई आफ्नो दैनिक जीवनमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

वडा कार्यालयले बालबालिका र अभिभावक दुवैलाई लक्षित यस्ता कार्यक्रमले परिवार तथा समाजमा सकारात्मक संस्कारको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।