गैँडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको जेठ ३० गते मतदान हुने

२६ गते सम्म उम्मेदवार मनोनयन फिर्ता लिन पाइने

२०८३ जेठ २४ आइतबार १३:०७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सातौँ अधिवेशन तथा निर्वाचन कार्यक्रम अन्तरगत शुक्रबार मनोनयन दर्ताको कार्यक्रम सकिएको छ ।  मनोनयनमा अध्यक्षमा पाँच जना,उपाध्यक्षमा पाँच जना, सचिवमा छ जना र कोषाध्यक्षमा चार जनाले मनोनयन दर्ता गराएको निर्वाचन संयोजक जनकराज ढुङ्गानाले बताउनुभयो ।

त्यसैगरी सहसचिवमा छ जनाले उमेदवारी दिएका छन्, लेखा संयोजकमा चार जनाले उमेदवारी दिएका छन् भने अन्य पदमा पनि आवश्यक भन्दा धेरै उमेदवारी परेको निर्वाचन संयोजक जनकराज ढुङ्गानाले बताउनुभयो । यो सँगै संस्थाले सूचना जारी गर्दै मनोनयन सकिएपछि हिजो उम्मेदवारी उपर दाबी–विरोध तथा दाबी विरोध उपर जाँचबुझ पछि दोस्रो नामावली प्रकाशन गरिएको छ ।

त्यसैगरी आइतबार देखि २६ गते सम्म उम्मेदवार मनोनयन फिर्ता लिने  र जेठ २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय गरिएको छ। निर्वाचन कार्यक्रमअन्तर्गत जेठ ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने जनाइएको छ।

मतदान जनक नमुना माध्यमिक विद्यालय, आर्दश ब्लक परिसर, गैँडाकोट–५ मा सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ। मतदान सम्पन्न भएपछि मतगणना कार्यालय परिसरमै गरिनेछ भने मतगणनापछि निर्वाचन परिणाम घोषणा तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरिने निर्वाचन संयोजक  ढुङ्गानाले जानकारी दिनुभयो।