जनक नमुना माध्यमिक विद्यालयमा बालमैत्री असल संस्कार कार्यक्रम सुरु

२०८३ जेठ २३ शनिबार १५:४०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ को आयोजनामा जनक नमुना माध्यमिक विद्यालयमा बालमैत्री असल संस्कार कार्यक्रम सुरु भएको छ। शनिबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई नैतिक शिक्षा, अनुशासन, सकारात्मक सोच तथा व्यवहारिक जीवनशैलीका विषयमा अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि असल संस्कार अपरिहार्य रहेको बताउनुभयो। उहाँले असल र खराब संस्कारबीचको भिन्नता बुझेर विद्यार्थीहरूले आफ्नो व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सके भविष्यमा सक्षम, दक्ष र जिम्मेवार नागरिक बन्न सक्ने उल्लेख गर्नुभयो। वडाले बालबालिकामा सकारात्मक सोच, अनुशासन र नैतिक मूल्यको विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले वर्तमान समयमा प्रविधिको तीव्र विकाससँगै नैतिक शिक्षाको आवश्यकता झन् बढ्दै गएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै संस्कारयुक्त शिक्षा हासिल गरी असल, अनुशासित र जिम्मेवार व्यक्तित्वका रूपमा स्थापित हुन आग्रह गर्नुभयो।

कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ति न्यौपानेले शारीरिक स्वास्थ्यका लागि भोजन आवश्यक भएझैँ व्यक्तित्व विकासका लागि असल संस्कार आवश्यक रहने बताउनुभयो। उहाँले जीवनका प्रत्येक क्षेत्रमा सफल हुन संस्कार, अनुशासन र सकारात्मक सोचको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख प्रशिक्षक एडुश्री डटकमका अध्यक्ष तथा विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बालमैत्री असल संस्कार शिक्षासम्बन्धी व्यवहारिक प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्यार्थीहरूको दैनिक जीवनशैली, समय व्यवस्थापन, अभिभावक तथा शिक्षकप्रतिको सम्मान, सामाजिक उत्तरदायित्व,डिजिटल माध्यमको सही प्रयोग तथा सकारात्मक बानीहरूको विकासका विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै, असल संस्कारले व्यक्तिको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने भएकाले सानै उमेरदेखि नै संस्कारमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान तथा सिकाइलाई आफ्नो दैनिक जीवनमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा वडा सदस्य द्रोणवन सन्यासीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने वडा सहायक कर्मचारी मणिरत्न सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। यसैबीच वडाध्यक्ष रत्नप्रसाद सापकोटाले बालबालिकासँगै अभिभावकहरूलाई पनि संस्कारमूलक शिक्षाबारे सचेत गराउने उद्देश्यले आइतबार अभिभावक लक्षित बालमैत्री असल संस्कार शिक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले बालबालिकाको समुचित विकासका लागि विद्यालय, परिवार र समुदायबीचको सहकार्य आवश्यक रहेको समेत बताउनुभयो।