विश्व वातावरण दिवसमा जय श्री सामुदायिक वन गैंडाकोटद्धारा वृक्षारोपण
गैंडाकोट । ५४ औं विश्व वातावरण दिवसको अवसरमा जय श्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले वृक्षारोपण गरेर वातावरण दिवस मनाएको छ। शुक्रबार रानीताल नजिकै रहेको पाखोमा लिची तथा आँपका बिरुवा रोपेर कार्यक्रम गरेको हो।
समूहले वातावरण दिवसको अवसरमा समुहको कार्य क्षेत्रभित्र रहेका ३० वटा टोललाई वातावरण सरसफाईका लागि प्रत्येक टोललाई १० हजारका दरले चेक हस्तान्तरण गरेको वनका अध्यक्ष भीमबहादुर कुमालले जानकारी दिनुभयो। अध्यक्ष कुमालले वनजंगल र वातावरण हरियाली बनाउन सबैको दायित्व भएको बताउनुभयो।
गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वातावरण जोगाउन घरको वरिपरि फलफुल, लगायतका वृक्षारोपण गरी वातावरण जोगाउनुपर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले विश्वले आज नेपालका वनजंगल जोगाउन अनुदान दिएको छ त्यसैले हामीले हाम्रो वनजंगल जोगाउन जरुरी रहेको बताउनुभयो ।
सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वातावरण जोगाउन प्लास्टिकलाई निषेध गर्ने डस्टबिन वितरण गर्ने, कम्पोस्ट बिन वितरण गर्न सक्यो भने वातावरण हराभरा हुने बताउनुभयो। प्रमुख मिश्रले फलफुल, लगायतका बिरुवा वितरण गर्ने, लगाउने, हाम्रो लागि भन्दा पनि अब आउने भविष्यका लागि वातावरण जोगाउनुपर्ने अवस्था रहेको बताउनुभयो । मिश्रले जलवायु परिवर्तनले धेरै असर गरेर हिमताल पग्लिरहेको छ, बाढी पहिरो बढिरहेको छ, महामारी फैलिएको छ र वन डडेलोको प्रकोप भइरहेको छ यसलाई न्यूनीकरण गर्न वन,वन्यजन्तु, जैविक विविधताको संरक्षण गर्नुपर्ने बताउनुभयो।
गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले प्लास्टिक जन्य वस्तुहरूले खेतीयोग्य जमिन, जीवजन्तु र वातावरणमा असर गर्ने भएकोले यसलाई रोक्नको लागी वृृक्षारोपण गर्नुपर्ने बताउनुभयो।
सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमल प्रसाद पराजुलीले मानव जातिको महत्वकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आजको चुनौती बनेको बताउनुभयो । केन्द्रीय सदस्य पराजुलीले जलवायु परिवर्तनले गर्दा वातावरणमा असर परेको बताउनुभयो ।
समुहका संस्थापक अध्यक्ष टोलनाथ घिमिरेले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको बताउनुभयो ।
समूहका उपाध्यक्ष ढाका सुबेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव टेकबहादुर आलेले गर्नुभएको थियो ।
कार्यक्रममा समूहका कार्यसमिति र समूहको क्षेत्रभित्र रहेका ३० वटा टोल विकास संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।