अक्सफोर्ड सेकेन्डरी स्कुलमा विद्यार्थी नेतृत्व चयन, सुधांसु सिग्देल बने स्कुल क्याप्टेन
गैंडाकोट । अक्सफोर्ड सेकेन्डरी स्कुलमा विद्यालय निर्वाचन-२०८३ सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारीबोध तथा लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले आयोजित निर्वाचनबाट विभिन्न पदका विद्यार्थी प्रतिनिधि चयन भएका हुन्। निर्वाचनमा कुल ४१० मत खसेको थियो। जसमध्ये ४०६ मत सदर तथा ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचनको नतिजाअनुसार सुधांसु सिग्देल स्कुल क्याप्टेन तथा सभ्यताश्री रेग्मी स्कुल भाइस-क्याप्टेनमा निर्वाचित हुनुभएको छ । त्यसैगरी, रेड हाउस क्याप्टेनमा कृष्मा थापा मगर र भाइस-क्याप्टेनमा जोसेफ गिरी, एल्लो हाउस क्याप्टेनमा पवन पौडेल र भाइस-क्याप्टेनमा सुसान श्रेष्ठ, ब्लु हाउस क्याप्टेनमा दिपेश पौडेल र भाइस-क्याप्टेनमा सुगम विक, तथा ग्रीन हाउस क्याप्टेनमा रोहित आले र भाइस-क्याप्टेनमा सौरभ अधिकारी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको जिम्मेवारी श्रीधर पाठकले निर्वाह गर्नुभएको थियो । मतदान केन्द्र अधिकृतका रूपमा रेड हाउसमा आशिका आचार्य, ग्रिन हाउसमा मिलन लामिछाने, ब्लु हाउसमा आनन्द घिमिरे तथा एल्लोे हाउसमा प्रदीप चौधरी रहनुभएको थियो । निर्वाचनको अनुगमन तथा सुपरिवेक्षण ई. रोहित भण्डारी, देवीलाल जोशी र कमलप्रसाद वाग्लेले गर्नुभएको थियो ।
विद्यालयका सह- प्रचार्य रोहित भण्डारीले विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको बताउनुभयो । अतिरिक्त क्रियाकलापमध्ये विद्यार्थीहरुको क्षमता विकास गर्नका लागि नमुना मतदान कार्यक्रम गरेको बताउनुभयो ।

विद्यालयका प्रशासन प्रमुख नारायण सिग्देलले कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीहरूलाई व्यवहारिक रूपमा निर्वाचन प्रक्रिया बुझाउने, नेतृत्व क्षमताको विकास गर्ने तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले विद्यालय निर्वाचन आयोजना गरिएको बताउनुभयो । उहाँले निर्वाचित सबै विद्यार्थी प्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयले यस्ता गतिविधिले विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य-मान्यता, सहकार्य र नेतृत्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।