नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड ऋण सहयोग
चितवन । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड रुपैयाँ) थप ऋण प्रदान गर्ने भएको हो । यससम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।
यसअघि सन् २०१६ डिसेम्बरमा यस आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो । नेपालस्थित जापानी दूतावासका अनुसार थप ऋण सहायता स्वीकृत भएसँगै उक्त आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ। सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग यसै वर्षदेखि सञ्चालनमा आउने तयारीमा छ।