विश्व वातावरण दिवसको अवसरमा शुभारम्भ एकेडेमीमा वृक्षारोपण
गैंडाकोट । विश्व वातावरण दिवस २०२६ को अवसरमा नवलपुरको गैँडाकोट-२ स्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विद्यार्थीहरूले चितवनको रत्ननगर-१० स्थित शुभारम्भ एकेडेमीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा कलेजका BCA तथा BBA संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। शुभारम्भ एकेडेमीका प्राचार्य पशुपति उपाध्यायको समन्वय तथा सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य उपाध्यायले वातावरण संरक्षण वर्तमान समयको महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले शुभारम्भ एकेडेमीमा प्रत्येक विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा एक बिरुवा रोप्ने अभ्यास विगतदेखि नै कार्यान्वयनमा रहेको जानकारी दिँदै यस्ता क्रियाकलापले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारीबोध र संरक्षण संस्कारको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, अक्सफोर्ड कलेजकी विद्यार्थी प्रतिनिधि सम्पदा ढकालले वातावरण संरक्षणलाई एकदिने अभियानका रूपमा मात्र नहेरी दैनिक जीवनको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विश्व वातावरण दिवसमा मात्र नभई वर्षभरि नै वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभयो ।
सहभागीहरूले वृक्षारोपण कार्यक्रमले वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै हरित वातावरण निर्माणमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमले युवा पुस्तामा वातावरण संरक्षणप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई थप सुदृढ बनाएको आयोजक विद्यार्थीहरूले बताएका छन् ।