नेपाल एसियन गेम्स पुरुष क्रिकेटमा छनोट
काठमाडौँ । नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मंगलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान बनाएको हो । जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ७.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
यसअघि पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । जितसँगै समूहबाट मलेसियाले पनि छनोट यात्रा तय गरेको छ । समूहमा लगातार दोस्रो हार खेपेको चीन छनोटबाट बाहिरिएको छ । अब समूहको अन्तिम खेलमा नेपाल र मलेसियाबिच बिहीबार प्रतिस्पर्धा हुने छ । नेपालले समूहको आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो ।