देशका विभिन्न स्थानमा १८ विपद्जन्य घटनाः २४ घण्टामा ३ जनाको मृत्यु, ७७ लाख बढीको क्षति

२०८३ जेठ ५ मंगलबार १८:२०:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका १८ वटा विपद्जन्य घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाहरूबाट अनुमानित ७७ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

 

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै, बारामा सर्पदंशका कारण एक जना र डोल्पामा लेक लागेर एक जनाको ज्यान गएको छ । काठमाडौँका तीन स्थान रामघाट, चन्द्रागिरि र तीनचुली सहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, अछाम र डडेलधुरामा आगलागी भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

 

काठमाडौँको तीनचुलीस्थित सिन्धुली खाजा घरमा ग्यास लिक भएर आगलागी हुँदा एक जना र दाङको गिठेपानीमा किराना तथा मासु पसलमा आगो लाग्दा एक जना घाइते भएका छन् । आर्थिक क्षतितर्फ सबैभन्दा बढी नोक्सानी बाराको जितपुरमा भएको छ । त्यहाँ दाल बोकेको लु२ख ५९४१ नम्बरको ट्रकमा विद्युत सर्ट भई आगलागी हुँदा मात्रै ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।