लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एडभान्स ब्युटी पार्लर सीप विकास तालिम गैंडाकोटमा सुरु

२०८३ जेठ ४ सोमबार १६:२५:०० मा प्रकाशित

गैँडाकोट । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एडभान्स ब्युटी पार्लर एवं सिलाई कटाई सम्बन्धी सीप विकास तालिम गैंडाकोटमा सुरु भएको छ ।


गैँडाकोट ८ स्थित अभियान कृषि सहकारीको परिसरमा सुरु भएको तालिम अन्र्तगत ब्युटी पार्लर एक महिनासम्म सञ्चालन हुनेछ भने सिलाई कटाई तालिम २ महिनासम्म सञ्चालन हुने जनाइएको छ । तालिम गैंडाकोट नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको हो ।

 

गैंडाकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले तालिमबाट सिकेको सिपलाई जीवन र व्यवसायमा सही ढंगले उपयोग गर्न आग्रह गर्नुभयो ।उहाँले सिपमूलक तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले नगरपालिकाले प्रदान गरेका तालिमलाई आत्मसाथ गर्दै व्यावसायिक बन्न आह्वान गर्नुभयो ।


गैंडाकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रेम सापकोटाले इच्छाशक्ति र मेहेनत भए तालिमबाट सफलतामा हासिल गर्न सकिने बताउनुभयो । उहाँले नगरपालिकाले एडभान्स तहको तालिम सञ्चालन गरेको उल्लेख गर्दै तालिमपछि बेसिकदेखि एडभान्ससम्मको सीप प्रयोग गरी आयआर्जन गर्न सक्षम हुनुपर्ने धारणा राख्नुभयो ।

 

तालिममा सहभागी प्रशिक्षार्थीहरुले घरमा खेर गइरहेको समयलाई सदुपयोग गर्दै तालिम लिएपछि राम्रो उपलब्धि भएकोे बताएका छन् । उनीहरुले यसअघि नगरपालिकाबाट प्रदान गरिएको बेसिक तालिमपछि व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न सफल भएको बताएका छन् । 


तालिममा सहभागी प्रतिमा चापागाईंले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता कमला अधिकारीले गर्नुभएको थियो। एडभान्स ब्युटी पार्लर तालिममा ९ जना र  एडभान्स सिलाई कटाइ तालिममा १२ जनाको सहभागिता रहेको छ ।