सरस्वती निकेतनमा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान
गैंडाकोट । गैंडाकोट स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
कार्यक्रममा ४ जिपिए ल्याएका विद्यार्थी केशव आचार्यलाई नगद २५ हजार रुपैयाँसहित विशेष सम्मान गरिएको छ ।
गैंडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिकोणात्मक समन्वय, मेहनत र अनुशासनकै परिणामस्वरूप यस्तो गौरवपूर्ण सफलता हासिल भएको बताउनुभयो ।
गैंडाकोट वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले केशव आचार्यले ४ जिपिए ल्याएर वडाको गरिमा बढाएकोमा खुसी व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलापति शर्माले शिक्षक, अभिभावक तथा विद्यालयप्रतिको निरन्तर विश्वास र सहकार्यकै कारण विद्यालयले उत्साहजनक नतिजा हासिल गर्न सकेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यवस्थापन समिति र शिक्षक टोलीले विभिन्न नयाँ योजना तथा सुधारका प्रयासहरू अघि बढाइरहेको जानकारी दिनुभयो ।
शिक्षक कमल तिवारीले पछिल्लो समय अभिभावकहरू भीड र प्रचारको प्रभावमा विद्यालय छनोट गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै वास्तविक गुणस्तरीय शिक्षा दिने विद्यालय पहिचान गर्न आग्रह गर्नुभयो ।
विद्यालयका सहायक प्रचार्य लक्ष्मण कँडेलले विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिक शिक्षा र व्यक्तित्व विकासलाई समान प्राथमिकता दिएको बताउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष ऋषिराम भण्डारीले विद्यार्थीहरूको कडा परिश्रम, अनुशासन र निरन्तरको मेहनतकै कारण यस्तो सफलता सम्भव भएको बताउनुभयो ।
विद्यालयका सहायक प्रचार्य लक्ष्मण कँडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस वर्ष सरस्वती निकेतनबाट परीक्षामा कुल ४९ जना विद्यार्थी सहभागी भएकामध्ये ४० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । विद्यालयको सफलता दर करिब ८२ प्रतिशत रहेको विद्यालयले जनाएको छ ।