विजय सामुदायिकद्वारा ४ जिपिए ल्याउनेलाई २५ हजार सहित कक्षा ११ र १२ निःशुल्क

२०८३ जेठ ३ आइतबार १२:१७:०० मा प्रकाशित


विजय सामुदायिक शिक्षा सदनले एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । यस विद्यालयबाट शैक्षिक सत्र २०८२ मा दुइ विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका थिए । नमि श्रेष्ठ र रेजिना मिश्रलाई शनिबार सौराहमा गरिएको एक कार्यक्रममा नगद जनही २५ हजार सहित सम्मान गरिएको छ ।

 दुबै विद्यार्थीलाई विजय सामुदायिक शिक्षा सदनले कक्षा ११ र १२ मा निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । कक्षा ११ र १२ अध्ययन गर्दा लाग्ने करिब १ लाख १७ हजार रुपँैया पनि विद्यार्थीको प्रोत्साहन र सम्मानका लागि  प्रदान गरिएको विद्यालयका अध्यक्ष गोपीनाथ खरेलले बताउनुभयो । 


सौराहमा भएका कार्यक्रम पुरस्कृत विद्यार्थी नमि श्रेष्ठ र रेजिना मिश्रले विद्यालय र परिवारको   साथ सहयोगले सफलता प्राप्त भएको बताउनुभएको छ । 


शनिबार सौराहमा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष गोपीनाथ खरेलले एसइइमा उत्कृष्ट नतिजा ल्याइ उत्तीर्ण हुने विद्यार्थीहरुलाई असल र रुचिको एकेडेमिक यात्रा तय गर्न सुझाब दिनुभएको थियो । 


विजय सामुदायिक शिक्षा सदनका प्रिन्सिपल वीरभद्र सापकोटाले कडा परिश्रम, समर्पण र दृढताले नै विद्यार्थी र विद्यालयले सफलता प्राप्त गर्न सफल भएको बताउनुभएको छ । 


उपलब्धि केवल एउटा नतिजा मात्र नभएर सम्पूर्ण शैक्षिक यात्राभरिको अनुशासन, प्रतिबद्धता र दृढ संकल्पको वास्तविक प्रतिबिम्ब भएको बताउनुभएको छ । परीक्षामा ७९ जना सहभागि रहेका थिए भने ८४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् ।