ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको छैटौँ साधारण सभा
नवलपुर, गैँडाकोट । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको छैटौँ साधारण सभा शनिबार गैँडाकोट–४ स्थित श्री सिद्धिविनायक गणेश पाञ्चायन मन्दिरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले प्रतिष्ठान विधिसम्मत ढंगले अघि बढिरहेको बताउँदै आगामी दिनमा अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकहरू समाजका धरोहर भएकाले उनीहरूको सम्मान, संरक्षण र अनुभवको सदुपयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी वरिष्ठ साहित्यकार चुडामणि बन्धु रेग्मी ले जेष्ठ नागरिकहरूले समाजलाई दिने र लिने दुवै संस्कारको विकास गर्न सके समाजमा सकारात्मक सन्देश प्रवाह हुने धारणा राख्नुभयो । उहाँले जेष्ठ नागरिकहरूको अनुभव, ज्ञान र जीवनदर्शन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताउनुभयो ।
त्यस्तै समाजसेवी क्याप्टेन रेशमलाल पौडेल, ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको निवर्तमान अध्यक्ष मुक्तिनाथ न्यौपाने, ज्येष्ठ नागरिक संघ वडा नम्बर ४ का अध्यक्ष नारायणप्रसाद पण्डित, केन्द्रीय सल्लाहकार ईश्वरीनाथ रिमाल, गैँडाकोट नगर प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, वेदप्रसाद गौडेल, समाजसेवी टोलनाथ घिमिरे, गोविन्दराज कोइराला, संस्थापक अध्यक्ष नारायणप्रसाद तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै जेष्ठ नागरिकको हकहित संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष डिल्लीप्रसाद सिग्देलले जेष्ठ नागरिकहरू अनुभवका भण्डार भएको उल्लेख गर्दै उनीहरूका जीवन भोगाइबाट नयाँ पुस्ताले शिक्षा, प्रेरणा र सकारात्मक सन्देश प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जेष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र सामाजिक सुरक्षाका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सचिव भूमेश्वर शर्माले प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३÷०८४ का प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रतिष्ठान विशुद्ध सेवामूलक संस्था भएकाले सबैको माया, सद्भाव र सहयोग आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी कोषाध्यक्ष युवराज रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरपालिका, वडा कार्यालय, उद्योग वाणिज्य संघ, सामुदायिक वन, विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तित्वहरूबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानलाई जग्गादान गर्नुहुने समाजसेवी निर्मला भट्टराईलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष डी.आर. पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव भूमेश्वर शर्माले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गर्नुका साथै जेष्ठ नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो ।