नवलपुर १ मा रास्वपाको जनलहर, ७ वडा बाहेक सबैमा बज्यो चर्को घण्टी
नवलपरासी पूर्व । नेपाली काँग्रेसको गढ मानिएको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले इतिहास रचेको छ ।
२०४८ सालमा सूर्यभक्त अधिकारी, २०५१ सालमा महेन्द्रध्वज जिशी, २०५६ सालमा दामोदर बस्ताकोटी, २०६४ देखि २०७९ सालसम्म डा। शंशाक कोइरालाले जित्दै आएको क्षेत्रमा यस पटक रास्वपाका राजन गौतमले भारी मतान्तरले झण्डा गाडेका छन् । गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गरेर विजयी बनिसकेका छन् ।
नेपाली काँग्रेसका बालकृष्ण घिमिरे १६ हजार २ सय ९३ मत सहित पराजित भए । गौतम र घिमिरेबीचको मतान्तर ३४ हजार ६ सय ५२ रहेको छ । नेकपा एमालेका भागिरथ र गौतमबीचको मत अन्तर ४१ हजार बढीको छ । भागिरथले ९ हजार १ सय ३१ मत प्राप्त गरेका छन् ।
पुष्पकमल दाहालको पार्टी नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारलाई हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीले पछि पारेको छ । श्रम संस्कृतिका भीमचन्द्र गुरुङले १७ सय २ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका लोकप्रसाद भूर्तेलले १ हजार २ सय ४५ मत ल्याएका छन् ।
नवलपुर क्षेत्र नं १ मा ५२ वटा वडा रहेका छन् । भर्खर सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ४५ वडामा रास्वपाले सबैदललाई पछि पारेको छ ।
गैँडाकोट नगरपालिकामा १८ वटा वडा रहेका छन् । १८ वटा वडामध्ये गैँडाकोट १८ बाहेक सबै वडामा रास्वपाले भारी मत ल्याएको छ । गैँडाकोट १८ मा नेपाली काँग्रेसले ३६७ मत ल्याउँदा रास्वपाले २७० मत ल्याएको छ । कतिपय वडामा नेपाली काँग्रेस र एमालेका क्रियाशील सदस्यभन्दा पनि कम मत पाएको देखिन्छ ।

रास्वपाबाट विजयी बनेका राजन गौतम देवचुली नगरपालिका निवासी हुन् । उनको आफ्नै गृहनगरका १७ वडामध्ये १६ वटा वडामा रास्वपा अगाडि रहेको छ । देवचुली ६ मा नेकपा एमालेले रास्वपा भन्दा अघि रहेको छ । २०७९ को निर्वाचनमा पनि राजन गौतम उम्मेद्वार रहेका थिए । त्यतिबेला गृहनगरबाट अपेक्षित नतिजा ल्याउन नसकेका राजनले यस पटक देवचुलीका सबै वडाबाट राम्रो मतभार पाएका छन् ।

कावासोती नगरपालिका नेपाली काँग्रेसका उम्मेद्वार बालकृष्ण घिमिरेको गृहनगर हो । यस क्षेत्रमा बालकृष्ण घिमिरेले उत्साहजनक मत पाउन सकेनन् । देशभरि नै घण्टीको लहरका बीच घिमिरेलाई आफ्नै वडाबासीले पनि पत्याएनन् । कावासोती ८ मा रास्वपाका राजनले २४ सय ५ मत प्राप्त गर्दा काँग्रेसका घिमिरेले ७ सय ४७ मत मात्रै प्राप्त गरेका छन् । कावासोतीका सबै वडामा रास्वपाले नै धेरै मत प्राप्त गरेको छ ।

नेपाली काँग्रेसको पकड क्षेत्र मानिएको र काँग्रेसका उम्मेद्वार घिमिरेको जन्मथलो बुलिङटारमा एक वटा वडा अर्थात ५ नम्बर मा मात्रै रास्वपा अघि रहेको छ । अरु वडामा नेपाली काँग्रेस अघि रहेको छ । नेपाली काँग्रेसको पकड क्षेत्रमा रास्वपाले गढ भत्काउन खोजेको उसको मतले प्रष्ट संकेत गरेको छ ।

२०७९ सालकै निर्वाचनमा समानुपातिक तर्फ पहिलो बनेको रास्वपाले काँग्रेसको गढ भत्काउन कोशीस गरिसकेको थियो । डा. शंशाक कोइरालालाई आच्छु आच्छु पारिसकेको अवस्थामा बुलिङटारले जोगाएको थियो । त्यही बुलिङमा रास्वपाले गढ भत्काउन यस पटकपनि कोशीस जारी राखेको देखिन्छ ।
२०७९ सालमा जस्तै २०८२ को निर्वाचनमा गैँडाकोटका मतदाताले अत्यधिक घण्टी बजाएको बजाएका छन् । यसपटक राजन गौतमले प्राप्त गरेको ५०९४५ मतको ४० प्रतिशत गैँडाकोटले दिएको छ । ३१ प्रतिशत देवचुलीले, २६ प्रतिशत कावासोतीले र ३ प्रतिशत बुलिङटारले दिएको छ ।
नवलपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी भन्दा श्रम संस्कृति पार्टीका उम्मेद्वारले धेरै मत प्राप्त गरेका छन् ।
नोट ः निर्वाचन आयोगबाट प्रमाणित तथ्यांक आउन बाँकी रहेको हुँदा यो तथ्यांकमा केही तलमाथि हुन सक्छ ।