गैँडाकोट मेयर कपको उपाधि लुम्बिनी प्रदेशलाई

२०८२ फाल्गुण ५ मंगलबार १८:५८:०० मा प्रकाशित

नवलपुर। नवलपुरको गैँडाकोटमा सम्पन्न पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो ।

 

लुम्बिनीले उपाधिसँगै रु तीन लाख नगद हात पार्न सफल भयो । उपविजेता बनेको मधेस प्रदेशले रु दुई लाख नगद पुरस्कार हात पा¥यो । प्रतियोगिता अवधीभर व्यक्तिगत खातामा १५४ रन जोड्दै लुम्बिनी प्रदेशका कप्तान देव खनाल म्यान अफ दी सिरिज ९सर्वोत्कृष्ट खेलाडी०घोषित भई रु २५ हजार नगद पुरस्कार हात पारे ।

 

प्रतियोगितामा मधेस प्रदेशले दिएको ९० रनको चुनौती लुम्बिनी प्रदेशले नौ दशमलव दुई ओभर खेल्दै एक विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो ।

 

लुम्बिनीको जितका लागि कप्तान देव खनालले अविजित रहँदै अर्धशतीय पारी खेले । उनले ४१ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ६१ रन बनाए । त्यस्तै सम्राट भुसालले अविजित रहँदै १५ बलमा १५ रन बनाउँदै टिमलाई उपाधि दिलाउन सफल भए । बलिङतर्फ मधेस प्रदेशका विशाल पटेलले एक विकेट लिन सफल भएका भए ।

 

सुरुआती ब्याटिङमा उत्रिएको मधेश प्रदेशका कप्तान अनिल कुमार साहले २८ बलमा तीन छक्का र चार चौका सहित ४४ रनको योगदान दिए । उक्त प्रतियोगितामा रुपेश कुमार सिंहले २२ बलमा एक छक्कासहित १५ रन जोड्दा अन्य ब्याटरहरुले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् ।

 

बलिङतर्फ मधेस प्रदेशलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङ र अजय चौहानले तीन÷तीन विकेट लिए । त्यस्तै वीरबहादुर घर्ती मगर, सलाहुद्दिन खान र कृष्ण कार्कीले मधेसको एक÷एक विकेट लिन सफल भए । प्रतियोगितामा सात वटा प्रदेशका सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको गैँडाकोट मेयर्स ११ गरी आठ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

 

पुरस्कार वितरण कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्थानीय स्तरमा हुने प्रतियोगिताले गैँडाकोटलाई खेलकुदको क्षेत्रमा उर्बर भूमि बनाउन सहयोग गरेको बताउनुभयो । खेलकुदले खेलाडीलाई अनुशासन र असल नागरिक बनाउन तथा आफ्नो र देशको नाम विश्वसामु उँचो राख्न मद्दत गर्ने भन्दै उहाँले पालिकाले खेलकुदको क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो । प्रतियोगिता गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा फागुन १ गतेदेखि सञ्चालन गरिएको थियो ।