निर्वाचन आचारसंहिता उल्लङ्घनका ६६ उजुरी, अध्ययन गर्दै आयोग
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंगनका ६६ उजुरी, अध्ययन गर्दै आयोग केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण लगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिता उल्लंगन विरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ ।
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंगनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ ।
प्राप्त भएका ३२ जवाफको अध्ययन भइरहेको कानून अधिकृत जोशीले बताउनुभयो । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उहाँले बताउनुभयो ।