बाल क्यान्सरका बारेमा सचेतना
चितवन । अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बीपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ ।
अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो । अस्पतालका उपनिर्देशक डा.उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर बाल क्यान्सर दिवस मनाएको हो । कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बाल क्यान्सरसम्बन्धी तालिम, अभिभावकसँग समस्या र समाधानका विकल्प विषयक छलफल र बालबालिकाको विशेष समारोह गरी बाल क्यान्सर दिवस मनाइएको हो ।
सो अवसरमा चित्रकला प्रतियोगितासमेत गरिएको थियो । अस्पतालको वार्डमा रहेका बालबालिकालाई मास्क, सेनिटाईजर, कापी कलम, रङ्, प्रोटिनयुक्त खाना र पानीका बोतल जस्ता सामग्री वितरण गरिएको थियो ।