भारतले पशुपतिनाथ वैद्यनाथधाम जोड्न हाई स्पिड करिडोर बनाउने
काठमाडौं । भारत सरकारले पशुपतिनाथ र बैजनाथधाम जोड्न नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ । नेपालको काठमाडौंमा रहेको पशुपतिनाथ र भारतको झारखण्डको देवघरस्थित बैजनाथधामसँग जोड्न भारत सरकारले नयाँ करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको हो ।भारतको केन्द्र सरकारले भागलपुर हुँदै जाने यो नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिइसकेको छ ।
यो जानकारी बिहारका सडक निर्माण मन्त्री डा। दिलीप जैसवालले गत मंगलबार विधानसभामा दिएका हुन् । सन् २०२६र२७ को बिहारको बजेटमा यो सडक निर्माणका लागि ८२ अर्ब ६० करोड भारु विनियोजन गरिएको छ ।‘प्रस्तावित करिडोर पशुपतिनाथ(वैद्यनाथ हाई(स्पिड करिडोर काठमाडौंबाट सुरु हुनेछ र भीमनगर, वीरपुरहुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ,’ मन्त्री जैसवालले भने, ‘त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथ धामसम्म पुग्नेछ ।’
प्रस्तावित ‘पशुपतिनाथ–सुपौल–वैद्यनाथधाम करिडोर’ सुल्तानगञ्ज(अगुवानीघाटमा गंगा नदीमाथि बनिरहेको पुल भएर गुज्रिनेछ, जसको निर्माण कार्य जारी छ । यो करिडोर करिब २४० किलोमिटर लामो हुने बताइएको छ ।
करिब सात महिना अगाडि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी यो करिडोर प्रस्ताव गरेका थिए । श्रावणी मेला र काँवर यात्राका क्रममा ठुलो संख्यामा श्रद्धालुहरू सुल्तानगञ्जबाट जल लिएर पैदल बैजनाथधाम जान्छन् । कतिपय भारतीय तिर्थयात्रीहरू पशुपतिनाथ मन्दिर दर्शनका लागि पनि आउँछन् । यो करिडोर बनेपछि श्रद्धालुहरूका लागि सुरक्षित र सहज यात्रा सुनिश्चित हुने र धार्मिक पर्यटक बढ्ने विश्वास गरिएको छ ।
यस करिडोरमा पैदल यात्रीका लागि विशेष ‘सर्भिस रोड’ समेत बनाउने योजना छ, जसले नांगो खुट्टा हिँड्ने श्रद्धालुहरूलाई राहत दिनेछ । यस परियोजनाले बिहार, नेपाल र झारखण्डबीचको धार्मिक पर्यटन मात्र नभई व्यापारिक र आर्थिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।भागलपुरका जिल्ला अधिकारी ९डीएम० डा। नवल किशोर चौधरीका अनुसार यस परियोजनाको मार्गचित्र तयार भइसकेको छ । मन्त्रालयबाट विस्तृत प्रस्ताव प्राप्त हुनासाथ यसको कार्यान्वयन सुरु गरिने अधिकारीहरूले जनाएका छन् ।