पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा

२०८२ फाल्गुण ४ सोमबार ११:१७:०० मा प्रकाशित

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।

सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । त्यस्तै शनिबार भएको खेलबाट लुम्बिनी प्रदेश र मधेश प्रदेश सेमिफाइलनमा पुगिसकेका छन् भने शुक्रबार भएको खेलबाट आयोजक गैँडाकोट मेयर्स ११ सेमिफाइलनमा पुगिसकेको थियो । लुम्बिनीले बागमतीलाई हराउँदै, मधेसले गण्डकीलाई हराउँदै तथा मेयर्स ११ ले कर्णालीलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

आज हुने सेमिफाइनलमा सुदूरपश्चिमले मधेस–प्रदेशको सामना गर्नेछ भने गैँडाकोट मेयर्स ११ ले लुम्बिनी प्रदेशको सामना गर्नेछ । सेमिफाइनल प्रवेशका लागि आइतबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले हराउन सफल भयो ।

जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको म्यान अफ दी सिरिजले २५ हजार तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवम् किपरले १५ हजारका दरले पुरस्कार पाउने छन् ।

त्यस्तै, बेस्ट क्याच अफ दी टुर्नामेन्टले १० हजार एवम् प्रत्येक खेलको म्यान अफ दी म्याचले रु पाँच हजार र नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने  छ ।

ताजा खबर