बामदेव घिमिरेको नेतृत्वमा कोटेश्वर मन्दिरको नयाँ कार्यसमिती गठन

२०८२ माघ २३ शुक्रबार १८:४५:०० मा प्रकाशित

गैंडाकोट । कोटेश्वर मन्दिर शिवालय सेवा समिति गैंडाकोट-४ ले शुक्रबार २० औँ साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले बामदेव घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


जसको उपाध्यक्षमा मिरा घिमिरे, सचिवमा संगिता घिमिरे पण्डित, कोषाध्यक्षमा कृष्णप्रसाद घिमिरे(ख) तथा सहसचिवमा ओमनाथ पोखरेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा खडानन्द सापकोटा, देवनाथ घिमिरे, विमला पण्डित, उमा पाण्डे, रामचन्द्र न्यौपाने, शिवप्रसाद लामिछाने, इन्दिरा ढकाल र लक्ष्मी भट्टराई रहनुभएको छ ।

 

यसैगरी, लेखा समिति संयोजकमा मोहनराज पौडेल चयन हुनुभएको छ भने सदस्यहरूमा वृद्धिसागर रिमाल र मुक्तिकला भण्डारी रहनुभएको छ । निर्वाचन संयोजक टोलनाथ घिमिरेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराउनुभएको थियो ।

यसअघि भएको २० औँ साधारण सभा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता तथा शिवालय सेवा समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई सामाजिक सद्भाव, संस्कृतिको संरक्षण र समुदाय एकताको आधार भएको उल्लेख गर्नुभयो । उहाँले मन्दिरको संरक्षण, सौन्दर्यकरण तथा पूर्वाधार विकासमा नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै मन्दिरको व्यवस्थापन पारदर्शी र व्यवस्थित हुनुपर्नेमा जोड दिँदै धार्मिक पर्यटन प्रवर्द्धनमा मन्दिरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

 

त्यस्तै, गैंडाकोट-४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले वडास्तरबाट मन्दिरको संरक्षण, व्यवस्थापन तथा सरसफाइमा निरन्तर सहयोग हुँदै आएको जानकारी गराउनुभयो । उहाँले स्थानीयवासीको सक्रिय सहभागिता र योगदानकै कारण मन्दिरको विकास सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा बाटोघाटो, खानेपानी, विद्युत् लगायतका पूर्वाधार सुधारमा वडाबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । साथै मन्दिरलाई वडाको पहिचान र गौरवका रूपमा विकास गर्ने धारणा व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक अमृत पण्डितले लेखा प्रतिवेदन तथा सचिव बामदेव घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

कोटेश्वर मन्दिरका सदस्य ओमनाथ पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव बामदेव घिमिरेले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा निर्वाचन संयोजक टोलनाथ घिमिरे, निर्वाचन सदस्य इश्वरीनाथ रिमाल, लक्ष्मिशरण घिमिरे, संगिता काफ्ले घिमिरे, भिम बहादुर कुमाल, शान्ता भुजेल, श्यामसुन्दर पराजुली, राधा कंडेल, अनिता काफ्ले, विभिन्न मठ मन्दिरका महिला संजाल, आमा समुहहरु, संघ संस्थाका प्रतिनिधीहरु र आजिवन सदस्यहरुको उपस्थिती रहेको थियो ।
 
शपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष बामदेव घिमिरेले आफ्नो टोल क्षेत्रमा रहेको कोटेश्वर मन्दिरको संरक्षण, विकास र व्यवस्थापनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।