कालिका मन्दिर कालिका आश्रममा अखण्डदीपको शिलन्यास
गैंडाकोट । गैंडाकोट नगरपालिका–८ स्थित कालिका मन्दिर कालिका आश्रममा अखण्डदीप स्थापना गर्न शिलन्यास गरिएको छ । बिहीबार गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले अखण्डदीपको शिलन्यास गर्नुभएको हो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर सापकोटाले मन्दिर स्थापनाको ५०औँ वर्ष तथा स्वर्ण जयन्तीको अवसर पारेर अखण्डदीप प्रज्वलन गर्ने उद्देश्यले यसको निर्माण थालिएको जानकारी दिनुभयो । भक्तजन, वडा कार्यालय तथा नगरपालिकाको सहयोगमा अखण्डदीप निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।
त्यसैगरी मन्दिर सञ्चालन समितिका उपसंयोजक कृष्णप्रसाद पौडेलले दीपले उज्यालो दिने र उज्यालोविना कुनै पनि वस्तुको अस्तित्व नहुने उल्लेख गर्नुभयो । निरन्तर उज्यालो फैलाउने र कहिल्यै ननिभ्ने प्रतीकका रूपमा अखण्डदीप स्थापना गर्न लागिएको उहाँले बताउनुभयो ।