तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

२०८२ माघ १६ शुक्रबार १८:४१:०० मा प्रकाशित

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ ।

 

यसैगरी, निर्वाचनमा दुई हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । तनहुँमा दुई लाख ५४ हजार ३ सय ९७ मतदाता कायम छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख २३ हजार ४ सय ९१ पुरुष र एक लाख ३० हजार ९ सय ६ महिला मतदाता छन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता छन् ।

 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार १ सय १८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार २ सय ७९ मतदात छन् । जिल्लामा १ सय ४४ मतदानस्थल र ३ सय ९ वटा मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ ।