तपाईंको भोट कसलाई ?
सधैँ एउटै खाना खाइरहेको मानिसले नयाँ परिकार देख्यो भने उसको मन आफैँ लोभिन्छ...
“कस्तो होला, चाखौँ न त?” भन्ने भावना आउँछ । जुन स्वभाविक पनि हो तर त्यो मीठो छ कि नमिठो, चाखेपछि मात्रै थाहा हुन्छ मन नपरे वा मीठो नलागे तत्काल अर्को परिकार फेर्न सक्छ ।
तर चुनाव यस्तो प्रयोगशाला होइन, जहाँ असफल भयो भने थाल फेर्न सकियोस् ।
फाल्गुन २१ गते नजिकिँदै गर्दा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। सडकका भित्तामा टाँसिएका पोस्टर, सामाजिक सञ्जालमा भाइरल भइरहेका भाषणका क्लिप, टेलिभिजन बहस र चियापसलका गफ सबैको केन्द्रमा एउटै प्रश्न घुमिरहेको छ ।
“तपाईंको भोट कसलाई ?”
सामान्य देखिने यो प्रश्नको भित्री तह भने अत्यन्त गम्भीर छ, किनकि यही उत्तरले देशको राजनीतिक दिशा मात्र होइन, नागरिकको भविष्यसमेत निर्धारण गर्छ । कतै नयाँ छ, फरक छ भन्दै गरिएको यही चाखौँ न त भन्ने मोहमा हाम्रो अमूल्य मत खेर जाने त होइन ? यही प्रश्न आज हरेक सचेत मतदाताले आफैँसँग गर्नुपर्ने बेला आएको छ ।
यसपटकको चुनावी माहोल अघिल्ला निर्वाचनभन्दा केही फरक देखिन्छ । राजनीतिक मैदानमा पुराना अनुहारसँगै नयाँनयाँ अनुहारहरूको उल्लेखनीय उपस्थिति छ । पुराना दलहरूको असफलता र निरन्तर निराशाले नै नयाँ पात्रप्रति आकर्षण बढाएको सत्यलाई पनि नकार्न सकिँदैन।”
नायकनायिका,
पत्रकार,
सामाजिक सञ्जालका प्रभावशाली पात्र,
सेलीब्रेटी र
विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरू राजनीतिमा प्रवेश गरेका छन् ।
लामो समयदेखि उस्तै अनुहार, उस्तै भाषण र उस्तै असफलताबाट आजित भएका नागरिकका लागि यी नयाँ पात्रहरू आशाको प्रतीकझैँ देखिनु स्वभाविक हो । सामाजिक सञ्जालमा सर्ट भिडियो, भावुक स्टाटस र आकर्षक नारामार्फत आफूलाई फरक देखाउने शैलीले यो आशा अझै बलियो बनाएको छ तर यही स्वभाविक उत्साहभित्र कतै विवेक कमजोर त भइरहेको छैन भन्ने प्रश्न पनि उत्तिकै जरुरी छ ।
लोकतन्त्रमा चुनाव केवल उम्मेदवार चयन गर्ने प्रक्रिया होइन, यो नागरिक चेतनाको प्रतिबिम्ब हो। मतदाताले कसरी सोचेर भोट हाल्छ, कुन आधारमा निर्णय गर्छ, यही कुराले लोकतन्त्रको स्तर मापन गर्छ । अहिलेको माहोल हेर्दा कतिपय मतदाता नीति, विचार र कार्यक्रमभन्दा पनि अनुहार, लोकप्रियता र भावनात्मक अपिलबाट बढी प्रभावित देखिन्छन् ।
उहाँ त राम्रो मान्छे हो,
सधैँ सत्य बोल्ने पत्रकार हो,
‘फिल्ममा देशको पक्षमा बोलेको थियो’ जस्ता तर्कहरू चुनावी निर्णयको आधार बन्दै गएका छन् तर राजनीति व्यक्तिगत छवि मात्र होइन, सार्वजनिक उत्तरदायित्वको गम्भीर क्षेत्र हो भन्ने कुराको पनि हेक्का हुन जरुरी छ।
नयाँ अनुहार राजनीतिमा आउनु आफैँमा नकारात्मक विषय होइन । बरु जड हुँदै गएको राजनीतिक संरचनामा ताजापन ल्याउने सम्भावना यसमै छ । नयाँ पुस्ता, नयाँ सोच र नयाँ ऊर्जा राजनीतिमा प्रवेश गर्नु लोकतन्त्रका लागि आवश्यक पनि हो तर प्रश्न नयाँ हुनुमा होइन, तयार हुनुमा हो ।
के यी नयाँ पात्रहरूले नीति निर्माणको जटिलता बुझेका छन् ?
के उनीहरूसँग शासन प्रणाली, कानुन, राज्य संयन्त्र र सार्वजनिक प्रशासनबारे पर्याप्त दृष्टि छ ?
कि उनीहरू केवल जनअसन्तोषको लहर चढेर, सामाजिक सञ्जालको चर्चामा रमाउँदै राजनीतिमा होमिएका हुन?
सेलीब्रेटीहरू राजनीतिमा आउँदा जनचासो बढ्छ, यो सत्य हो। राजनीति अब केवल भाषण र कागजमा सीमित रहँदैन, जनतासँग प्रत्यक्ष संवादको माध्यम बलियो बनाउने आधार पनि हो । वर्तमान सन्दर्भमा विशेषगरी युवाहरू राजनीतिप्रति आकर्षित छन् तर लोकप्रियता र नेतृत्वबीच ठूलो अन्तर हुन्छ । सेलीब्रेटी हुनु भनेको जनप्रिय हुनु हो, तर राजनीतिक नेतृत्व भनेको निर्णय गर्ने, आलोचना सहने, असफलताको जिम्मेवारी लिने र दीर्घकालीन नीति निर्माण गर्ने क्षमता हो । यदि राजनीतिलाई केवल स्टेज’ र सामाजिक सञ्जाललाई मात्र तालि’ ठानियो भने लोकतन्त्र गम्भीर संकटतर्फ धकेलिन सक्छ ।
पत्रकारहरूको राजनीतिमा प्रवेशले पनि मिश्रित प्रतिक्रिया जन्माएको छ । पत्रकारिता स्वयं सत्तामाथि निगरानी गर्ने माध्यम हो। जब त्यही निगरानीकर्ता सत्ता संरचनाभित्र प्रवेश गर्छ, तब निष्पक्षताको प्रश्न उठ्नु स्वभाविक हुन्छ । पत्रकार राजनीतिमा आउनु गलत होइन, तर उनीहरूले आफ्नो अघिल्लो भूमिका र नयाँ भूमिकाबीच स्पष्ट र इमानदार सीमारेखा कोरेका छन् कि छैनन् भन्ने कुरा मतदाताले मूल्यांकन गर्नैपर्छ ।
आलोचकबाट सत्ताधारी बन्दा विचार, मूल्य र व्यवहार बदलिन्छ कि बदलिँदैन यही नै विश्वासको परीक्षा हो । सत्ता बाहिर रहँदा सोधिएका प्रश्नहरू सत्ताभित्र पुगेपछि आफैँले जवाफ दिन सक्ने परिपक्वता देखाउन सके भने मात्र जनविश्वास बलियो हुन्छ।
यस सन्दर्भमा मूल प्रश्न व्यक्ति मात्र होइन, दल र विचारको पनि हो। लोकतान्त्रिक राजनीतिमा उम्मेदवारभन्दा पार्टीको राजनीतिक दर्शन, वैचारिक स्पष्टता र दीर्घकालीन राजनीतिक गन्तव्य अझै महत्त्वपूर्ण हुन्छ। व्यक्ति बदलिन सक्छ, तर दलको विचार र प्रतिबद्धताले नै राज्यको दिशा तय गर्छ । त्यसैले भोट अनुहार हेरेर होइन, उसले प्रतिनिधित्व गर्ने दलको नीति, कार्यक्रम र राजनीतिक दृष्टिकोणमा आधारित हुनुपर्छ ।
भोट कसैलाई मन प¥यो’ भनेर होइन,
उसले देश र जनताका लागि के गर्न सक्छ’ भनेर दिनुपर्ने हो ।
घोषणापत्र कति यथार्थपरक छ ?
वाचा कति व्यवहारिक छन् ?
अघिल्लो सामाजिक योगदान के छ ?
आलोचनालाई कसरी लिन्छन् ?
फरक मतप्रति कति सहिष्णु छन् यी सबै पक्ष हेरेर निर्णय गर्नुपर्छ ।
लोकतन्त्र भावनामा होइन, विवेकमा टिक्छ ।
विशेषगरी युवा मतदाता यसपटक निर्णायक भूमिकामा छन् । सामाजिक सञ्जालमा सक्रिय युवाहरू नै सेलीब्रेटी राजनीतिका मुख्य मतदाता पनि हुन् तर लाइक, सेयर र कमेन्ट गरेझैँ चुनावी मतलाई पनि त्यही दृष्टिले हेरियो भने यसको परिणाम पक्कै राम्रो आउने छैन र देश ठूलो दुर्घटनामा पर्न सक्छ ।
भोट कुनै ट्रेन्ड पछ्याउने काम होइन ।
यो पाँच वर्षको भविष्य सुम्पिने निर्णय हो ।
आजको भावनात्मक निर्णयले भोलि गहिरो निराशा जन्माउन सक्छ ।
अन्त्यमा फाल्गुन २१ गते मतदान केन्द्रमा पुग्दा हरेक मतदाताले आफैँसँग एउटा इमानदार प्रश्न गर्नुपर्छ,
“म यो भोट कसका लागि हाल्दैछु?”
मेरो रिस, मेरो निराशा र मेरो उत्साहको प्रयोग गरेर कसैले मलाई प्रयोग त गरिरहेको छैन?
म जुन परिवर्तन चाहन्छु, त्यो परिवर्तन गर्ने क्षमता र धैर्य यस उम्मेदवारमा साँच्चिकै छ कि छैन?
भोट केवल कागजमा छाप लगाउने क्रिया होइन, यो आफ्ना सपना, आफ्ना संघर्ष र आफ्ना सन्तानको भविष्यप्रतिको निर्णय हो, अझै भनौ भने यो समृद्ध मुलुक निर्माण, सामाजिक रूपान्तरण र भावी पुस्ताको दिशासँग गाँसिएको पक्ष पनि हो ।
आज तपाईंले हाल्ने एक मतले भोलि देशको राजनीतिक स्थायित्व, सामाजिक न्याय, समावेशी विकास र नागरिकको आत्मसम्मानको बाटो तय गर्छ ।
त्यसैले,
भावनामा होइन, विवेकमा टेकेर निर्णय गर्नुहोस् ।
लोकप्रियताभन्दा नीति रोज्नुहोस् ।
भाषणभन्दा कार्ययोजना खोज्नुहोस्, र
अनुहारभन्दा उत्तरदायित्व हेर्नुहोस् ।