ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट २ मा नयाँ नेतृत्व, अध्यक्षमा जीतबहादुर श्रेष्ठ चयन 

२०८२ माघ १३ मंगलबार १९:०२:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट २ को दोस्रो अधिबेशनले जीतबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा सूर्यकुमारी पौडेल, सचिवमा दयाप्रसाद रेग्मी, कोषाध्यक्षमा विष्णुप्रसाद शर्मा सापकोटा, सहसचिवमा भगवती पोखरेल चयन हुनुभएको निर्वाचन समिति संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । 


यस्तै सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, प्रेमनारायण भण्डारी, देवीराम घिमिरे, पार्वती पंगेनी, शरणहरि शर्मा गौडेल, कलाधर कँडेल चयन हुनुभएको हो । यसैबिच भेलाले ३ जना नगर प्रतिनिधिहरु शारदा ढकाल, महेन्द्र भण्डारी र उमाकान्त सापकोटालाई चयन गरेको छ । यसैबिच निर्वाचित प्रतिनिधिलाई नै निर्वाचन संयोजक कृष्णप्रसाद पराजुलीले सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गर्नुभयो ।

 
यसअघि भएको दोस्रो साधारणसभा जीतबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । उहाँले ज्येष्ठ नागरिकको हकहितमा रहेर काम गर्ने बताउनुभयो । साथै उहाँले अन्य व्यक्ति र सरोकारवालाहरुको साथ सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो । 


कार्यक्रममा बोल्दै गैँडाकोट वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटाले ज्येष्ठ नागरिकको आश्रयस्थलको लागि जग्गा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । स्वास्थ्य, व्यायाममा बिशेष ख्याल गर्ने समेत उहाँले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक वडा संघले उचित र राम्रो प्रस्तावना पेश गरेर कार्यक्रम ल्याए सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । संघ र वडाको सहकार्यका लागि ज्येष्ठ नागरिकको तथ्याङ्क संकलन गर्न आवश्यक भएको बताउनुभयो । ज्येष्ठ नागरिक भगवानको दोस्रो रुप भएकोले उहाँहरुको हकहितका लागि वडाले सदैब काम गर्ने बताउनुभयो । 


साधारण सभामा सचिवको प्रतिवेदन दयाप्रसाद रेग्मी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिष्णुप्रसाद शर्मा सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।  


ज्येष्ठ नागरिक संघ जिल्ला सदस्य कृष्णप्रसाद पराजुलीले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रममाथी प्रकाश पार्दै शुभकामना दिनुभयो । अहिलेसम्म गैँडाकोटका १६ वडाको ज्येष्ठ नागरिक वडा संघ गठन भएको र अब माघ महिनाको अन्त्यसम्म बाकीँ २ वडामा पनि कार्यक्रम गर्ने नगर अध्यक्ष  न्यौपानेले बताउनुभयो ।


कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सूर्यकुमारी पौडेलले व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण कोषाध्यक्ष विष्णु प्रसाद शर्मा सापकोटाले गर्नुभएको थियो ।