गैँडाकोटमा सुरक्षित डिजिटल प्रयोगका लागि सामुदायिक संवाद र प्रयास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ माघ ४ आइतबार १९:१८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा सुरक्षित डिजिटल प्रयोगका लागि सामुदायिक संवाद र प्रयास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैँडाकोट इङ्गिलस स्कुलको व्यवस्थापन तथा ज्ञानकुञ्ज इङ्गिलस स्कुलको आयोजनामा उक्त कार्यक्रम आइतबार ज्ञानकुञ्ज इङ्गिलस स्कुलको सभाहलमा सम्पन्न भएको हो ।


“विद्यालय, अभिभावक र समुदायको आह्वान– सुरक्षित डिजिटल प्रयोगमा संयुक्त अभियान” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ती कोइरालाले अनलाइन खेल तथा अत्याधिक मोबाइल प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको बताउनुभयो । यस्ता कार्यक्रमहरू समयसापेक्ष र अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा नगरपालिकाले पनि सुरक्षित डिजिटल प्रयोगसम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा बार एसोसिएसनका सचिव अधिवक्ता कुलचन्द्र खनालले डिजिटल माध्यमको दुरुपयोग भएमा स्थानीय सरकारमार्फत कानुनी कारबाही हुन सक्ने स्पष्ट पार्नुभयो । उहाँले अभिभावक तथा समुदाय सचेत भए मात्र बालबालिकालाई डिजिटल जोखिमबाट जोगाउन सकिने बताउनुभयो ।


अधिवक्ता रमेश काफ्लेले डिजिटल माध्यमका कारण धेरै बालबालिका मानसिक समस्यामा परेको उल्लेख गर्दै अभिभावकहरूले आफ्ना सन्तानको डिजिटल गतिविधिमा निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै, मनोसामाजिक परामर्शदाता पार्वती पाण्डेले बालबालिकालाई पर्याप्त समय दिनु, उनीहरूको व्यवहार बुझ्नु र सकारात्मक संवाद गर्नु अभिभावकको मुख्य भूमिका भएको बताउनुभयो ।


कार्यक्रममा गैँडाकोट इङ्गिलस स्कुलका सह–प्राचार्य नवराज कंडेलले वर्तमान समयमा अनलाइन खेल तथा मोबाइल प्रयोगको विद्यमान अवस्थाबारे तथ्यसहित प्रस्तुतिकरण गर्नुभएको थियो । साथै, एकेडेमिक डाइरेक्टर रेखा श्रेष्ठले व्यवहारगत तथा मनोसामाजिक विचलनका विषयमा विस्तृत प्रस्तुति दिनुभयो ।


कार्यक्रमका सभापति तथा गैँडाकोट इङ्गिलस स्कुलका प्रधानाध्यापक हिरालाल अर्यालले डिजिटल माध्यमको दुरुपयोगका कारण बालबालिकामा देखिएको मानसिक समस्यालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रम अन्तर्गत सहभागीहरूबीच अन्तरक्रिया, प्रश्नोत्तर तथा अनुभव आदान–प्रदान समेत गरिएको थियो ।