गैँडाकोट महोत्सवः आइतबार मेलिना राईसहित चर्चित कलाकारहरुको प्रस्तुती रहने 

२०८२ माघ ३ शनिबार १७:३१:०० मा प्रकाशित

गैँडाकोट । चौथो गैँडाकोट महोत्सवमा आइतबार (भोली) चर्चित गायिका मेलिना राईको प्रस्तुती रहने भएको छ  ।

नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा आइतबार मेलिना राईसहित प्रस्तोता तथा गायक दीप काफ्ले, गायिका मन्जु बिक, गायक शिव थापा, गायिका सम्झना श्रेष्ठ लगायतका राष्‍ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए
लम्सालकाअनुसार महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राखिरहेका छन् । आइतबार चर्चित गायिका मेलिना राईको विशेष प्रस्तुति रहने भएकाले महोत्सवमा दर्शकको उल्लेख्य भीड रहने अपेक्षा गरिएको महोत्सवका सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए । 


महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवप्रति दिनप्रतिदिन दर्शकहरुको आकर्षण बढ्दै गइरहेको छ । पुस २५ गतदेखि सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताए । महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने भन्दै सापकोटाले महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यान रहेको जानकारी दिए । 


संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको कँडेलको भनाइ छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।