ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट-१७ को अध्यक्षमा ऋषिराम कंडेल चयन

२०८२ माघ ३ शनिबार १६:०९:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट-१७ को साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार अमरज्योति माध्यमिक विद्यालय, अमरापुरीको सभाहलमा सम्पन्न भएको छ ।


संघका अध्यक्ष ऋषिराम कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैंडाकोट वडा नं. १७ का वडाध्यक्ष गोपिनाथ कंडेल प्रमुख अतिथि रहनुभएको थियो । “ज्येष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकको अनुभव, श्रमशक्ति र ज्ञानको सम्मान गर्न सकिएमा समाजको लक्ष्य पूरा हुने उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिक साक्षात् भगवान् सरह भएकाले उनीहरूको सम्मान गर्नु सबैको दायित्व भएको धारणा राख्नुभयो ।

 


कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघका अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै ज्येष्ठ नागरिकको हकहितका लागि प्रत्येक वडामा समिति गठन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६ वटा वडामा समिति गठन भइसकेको छ ।


कार्यक्रममा वडा नं. १७ का पूर्व वडाध्यक्ष रत्नबहादुर खड्का, जिल्ला सदस्य कृष्णप्रसाद पराजुली, अम्बिका सापकोटा कंडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पराजुलीले ऋषिराम कंडेलको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा मिठु तिमिल्सिना, सचिवमा चित्रबहादुर थापा, कोषाध्यक्षमा रविलाल न्युरे र सहसचिवमा टिका बहादुर रोका चयन हुनुभएको छ ।


त्यसैगरी, सदस्यहरूमा यमकला थापा, रेशमराज घिमिरे, हिमा क्षेत्री, रेखा बहादुर कामी, नन्दलाल कंडेल र पुष्पा न्यौपाने रहनुभएको छ । नगर प्रतिनिधि सदस्यमा तुलसा पौडेल, उमाकान्त दाहाल र कृष्णबहादुर भण्डारी चयन हुनुभएको छ ।


ज्येष्ठ नागरिक वडा सदस्य कृष्ण बहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको कृष्णप्रसाद पराजुलीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ९४ जना ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो ।


निर्वाचन अधिकृत कृष्णप्रसाद पराजुलीले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै शपथ ग्रहण समेत गराउनुभएको थियो ।