रत्ननगर महोत्सवः छैठौं दिनसम्म डेढ लाखले गरे अवलोकन 

२०८२ पौष ३० बुधबार १८:१५:०० मा प्रकाशित

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणको छैठौं दिन बुधबारसम्म आइपुग्दा एक लाख ५५ हजारले महोत्सवको अबलोकन गरेका छन् । पौष २५ गतेबाट सुरु भएको महोत्सव ३० गतेसम्म आइपुग्दा अबलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

 

संघका कोषाध्यक्ष विनोद घिमिरेले टिकट विक्रीको संख्या अपेक्षाकृत रहेको र महोत्सव अबलोकनकर्ताको संख्या बढ्दै गएको बताए । संघका अध्यक्ष शंकर गिरीले माघ १ गतेबाट महोत्सवमा अबलोकनकर्ताको संख्या झनै बढ्ने दावी गरे । माघ १ गतेबाट अबलोकनकर्ताको संख्या थग्नै नसक्ने गरी बढ्ने अनुमान गरेका छौं उनले भने त्यसका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौं ।

 

महोत्सव अबलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् ।  महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अबलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ ।

 

कृषि, पर्यटन, कला-संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका अध्यक्ष गिरीले बताए ।  विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ ।

 

यसैबीच, रत्ननगर महोत्सव अन्तर्गत खानाको लागि खेतिपाति, भविश्यको खेतिपातिको चुनाती र अबसर तथा गीर गाई प्रर्बद्धन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको हो । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रका विज्ञहरुले अर्गानिक खेतीको प्रमाणिकरण र लगानीमा सरकार उदासीन रहेको बताएका थिए ।

 

कार्यक्रममा भविश्यको खेतिपातिका अभियान्ता डा.कृष्णप्रसाद पौडेलले खानाको लागि खेतिपाति, भविश्यको खेतिपातिको चुनाती र अबसरका विषयमा कार्यपत्र तथा अनुभवी पशुपालक किसान लक्ष्मण घिमिरेले नेपालका गीर गाईको पालनको सम्भावना र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । डा.पौडेलको कार्यपत्र माथि बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले पैसा कमाउने नाममा रैथाने तथा अर्गानिक खेती तर्फ किसानको ध्यान जान नसकेको बताएका थिए । व्यवसायिक खेती गर्ने नाममा विहान बेलुका हातमुख जोर्ने खानाको उत्पादन प्रति बेवास्था हुने गरेको भन्दै उक्त कार्यले भविश्मा संकट पैदा हुने उनले बताए ।

 

सोही कार्यपत्र माथि बोल्दै कृषि विज्ञ शारदा शर्मा पौडेलले अर्गानिक उत्पादनको प्रमाणिकरण र बजारीकरणको समस्या रहेको बताइन् । अर्गानिक उत्पादनलाई विहान बेलुका हातमुख जोर्ने माध्यम बनाउनु पर्ने भन्दै उनले अन्नबालीमा विषादीको प्रयोगले माटो जर्जर बनेको उल्लेख गरे । नेपालमा गीरगाई पालन सुरु गरेका खैरहनीका घिमिरेले नेपालमा गीरगाईको संख्या ५० को हाराहारीमा रहेको उल्लेख गर्दै चितवनमा ९ वटा मात्र रहेको जानकारी दिए । तराईमा गीरगाई पालनको सम्भावना उच्च रहेको भन्दै यहाँको हावापानीमा गीरगाई सजिलै हुर्कन सक्ने बताए । अनुभवी किसान हरि अधिकारीले खाद्यबालीमा रासायनिक मलको प्रयोगले माटोको उर्भराशक्ति शुन्यमा झरिसकेको बताए । रासायनिक मलको प्रयोगले माटो विग्रियो उनले भने सुधार गर्न राज्य गम्भिर देखिएन् ।

 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले रत्ननगर महोत्सवमा रैथाने बाली र पशुपालन विकासको लागि प्रर्बद्धनात्मक कार्यक्रम गरिएको बताए  । संघका पूर्वअध्यक्ष तथा गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले रत्ननगर महोत्सवमा कृषि र पशुपालनको व्यवसायिक विकास तथा बजारीकरणको पाटोलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै यस पटक महको उत्पादन र बजारीकरण, रैथानेबालीको संरक्षण र गीरगाई पालनलाई स्थापित गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताए ।

 

कार्यक्रममा रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रविन लामाले चितवनको तरकारी खेतीमा ६० प्रतिशत बढी विषादीको प्रयोग हुँदै आएको भन्दै न्यूनीकरणमा नलागे संकट उत्पन्न हुने बताए । कार्यक्रममा पूर्वमन्त्री केशबलाल श्रेष्ठ, किसान हरिप्रसाद पौडेल, विजय अर्याल, लगायतले मन्तव्य राखेका थिए ।

महोत्सवको गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, रत्ननगरका संस्थापक मेयर नारायण वन, समाजसेवी बलराम खनाल लगायतको उपस्थिति रहेको थियो ।