नमुना शिवनगर खानेपानी तथा सरसफाई संस्थाको बाह्रौं साधारण सभा

(खानेपानी संस्थाले शुद्धध खानेपानीका साथै सरसफाईमा ध्यान दिनुपर्ने अध्यक्ष चापागाईको भनाई)

२०८२ पौष २८ सोमबार १७:४४:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट ६ मा अवस्थित नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बाह्रौं वार्षिक साधारण सभा सोमबार संस्थाको सभाहलमा सम्पन्न भएको छ ।


कार्यक्रममा गैंडाकोट वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईंले ६ नम्बरमा अवस्थित खानेपानी नाम मात्र नमुना नभई काम पनि नमुना गरेर देखाएको बताउनुभयो । अध्यक्ष चापागाईंले अब पानीलाई दीर्घकालीन रुपमा कसरी अगाडि बढाउन सकिन्छ, कसरी स्वच्छ पानी खुवाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले गाउँघरबाट निस्किएका फोहोर मैलाका कारण समस्याहरु देखिएकोले यसको सरसफाई गर्न खानेपानी संस्थाबाट नगरपालिकालाई घच्चघचाउन अनुरोध गर्नुभयो ।


संस्थाका अध्यक्ष जयराम कंडेलले संस्थाको विकासक्रम द्रुत गतिमा अगाडि बढेकै कारण संस्था आजको अवस्थासम्म आइपुग्न सफल भएको बताउनुभयो । अध्यक्ष कँडेलले मुहानदेखि मुखसम्म स्वच्छ सफा र शुद्ध पिउने पानी चौबिसै घण्टा उपभोक्ताको घर घरमा वितरण गर्ने संस्थाको मूल उद्देश्य रहेको बताउनुभयो ।

 

उहाँले पिउने पानीलाई थप शुद्धिकरण गर्नको लागि क्लोरिन युनिटलाई पूर्णरूपमा सञ्चालन गर्नुका साथै उपभोक्ताको घरबाट समेत पानी परीक्षणको नमुना संकलन गरी पानी परीक्षण गरिएको बताउनुभयो । अध्यक्ष कंडेलले सुरक्षित खानेपानी प्रविधिमैत्री सेवा दिगो संस्था भन्ने अभिभारा पूरा गर्न दृढ संकल्पित रहेको पनि बताउनुभयो । अध्यक्ष कँडेलले भन्नुभयो, विश्व स्वास्थ्य संगठनले तय गरेका सूचक र मापदण्ड पूरा गरी सुरक्षित पानीका लागि प्रभावकारी नीति, विधि र प्रविधिसहितको सेवा संस्थाको रहेको बताउनुभयो ।

 


कार्यक्रममा संस्थाका सचिव प्रकाश भुसालले स्वच्छ, सुरक्षित र गुणस्तरीय पिउनेपानी उपलब्ध गराएको र सरसफाई सम्बन्धी जनचेतना फैलाउनुका साथै भूमिगत जलस्रोतको विकल्पको खोज्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो । सचिव भुसालले प्रस्तावित कार्यक्रम अन्तर्गत विद्यमान भूमिगत जलस्रोतको विकल्पमा अन्य पानीका स्रोतको खोजी गर्ने, संस्थाको सेवा क्षेत्रभित्र सञ्चालन हुँदै आएको वार्ड नम्बर ९ को काउन्टरलाई व्यवस्थित गरिने बताउनुभयो । सचिव भुसालले फुलबारी पार्कलाई थप व्यवस्थित र स्तरोन्नति गर्दै लैजाने, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा संस्थाको क्षमता अनुसार विद्यालयलाई सहयोग गर्ने बताउनुभयो।

 


कार्यक्रममा कोषाध्यक्ष कुशल अधिकारीले विद्यालयहरूमा पानीको महसुल ५० प्रतिशत छुट, वार्षिक रुपमा विपन्न चार घरपरिवारलाई धारा जडानमा लाग्ने छुट, घरमा शोक र विपत परेको बेला महशुलमा छुट गरेको बताउनुभयो । कोषाध्यक्ष अधिकारीले कार्यक्षेत्रभित्र सम्पूर्ण नागरिकलाई शुद्ध पिउने पानी उपयोग गरुन् भन्ने हेतुले यस वर्ष पूर्ण उपभोक्ता वडा घोषणा गर्ने बताउनुभयो ।

 


कार्यक्रममा लेखा समिति संयोजक इन्द्रमणि चालिसेको लेखा समितिका प्रतिवेदन प्रस्तुत गर्दै  संस्थाका व्यवस्थापक जिवन थापाले संस्थामा २२०६ उपभोक्ता सदस्य र प्रत्यक्ष रूपमा करिब २० हजार जनसङ्ख्याले शुद्ध पिउने पानी उपयोग गरेकोे बताउनुभयो। थापाले संस्थाले गरेका कामहरूको सबल पक्ष र संस्थाले गर्नुपर्ने सुझावहरू राख्नुभएको थियो। उहाँले समय सापेक्ष अझ नविनतम प्रविधिको खोज गरी संस्थालाई प्रविधिमा अब्बल बनाउन सुझाव दिनुभयो ।  उहाँले कर्मचारी र उपभोक्ता समितिलाई तालिम आयोजना गरी थप सबल र सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । 

 

कार्यक्रममा खानेपानी सुरक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक लक्ष्मीप्रसाद कँडेलले क्लोरिन सञ्चालन प्रक्रिया नियमित भएको, दैनिक ल्याब परीक्षण गरिएको र उपभोक्ताको धारको पानी परीक्षण गरिएको बताउनुभयो । 


कार्यक्रममा गैंडाकोट वडा नम्वर ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, गैंडाकोट वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष एवं बिधायन समिति संयोजक ज्ञान प्रसाद खनाल, संस्थाका पूर्व सल्लाहकार तथा समाजसेवी करुणा सागर सुवेदी, संस्थापकको तर्फबाट संस्थापक सदस्य  टिकाराम सापकोटा, जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ पौडेल, गैंडाकोट पम्पीङ्ग स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता सचिब केशव शर्मा र उपभोक्ताकोतर्फबाट छविलाल सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष जोगमाया सुनारी मगरले मानव जीवनमा र सबै जीवित प्राणीको लागि पानीको महत्व अतुलिनीय रहेको बताउँदै संस्थाको सुरुवातदेखि आजको यो अवस्थासम्म आइपुग्नमा सम्पूर्ण अग्रणी व्यक्तित्वहरूको दूरदृष्टि सोचको उपलब्धि भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण सचिव प्रकाश भुसालले गर्नुभएको थियो ।

 

नमुना शिवनगर खानेपानीको “जीवन हो पानी, स्वच्छ र समृद्ध जीवनका लागि सुरक्षित खानेपानी” भन्ने मूल मन्त्रका साथ स्थापित नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता २०६४ वैशाख १७ गते स्थापना २०७१ माघ १२ गते जिल्ला जलस्रोत समितिको सचिवालय समितिको सचिवालय नवलपरासीमा विजयनगर पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नाममा दर्ता भएको थियो ।

 

संस्थाको सुरुमा जलुके २ नामाकरण गरी स्थापित संस्था दर्ता बखत विजयनगर पम्पिङ खानेपानी तथा सरसफाई उक्त संस्था भनिएको थियो । २०७५ मङ्सिरदेखि खानेपानी आपूर्ति सुचारु रूपले सञ्चालन गर्न संस्था सफल भएको थियो। आयोजना सम्पन्न गर्न नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत रकम लगानी गरिएको हो । संस्थाले गैंडाकोट वडा नम्बर ६, ७, ८ र ९ मा सेवा क्षेत्र रहने गरी २२०६ घरधुरीसहित लगभग २० हजारभन्दा बढी जनसंख्यालाई सफा सुरक्षित र पानी चौबिसै घण्टा प्रदान गर्दै आइरहेको छ ।

 

संस्थाले क्षेत्रगत काउन्टर जल राहत, दुर्घटना बीमा, २४ घण्टा खानेपानी आपूर्ति, गरिब विपन्न निःशुल्क धारा सदस्यता वितरण, गरिब विपन्न निःशुल्क धारा सदस्यता वितरण, किस्ताबन्दी धारा वितरण जस्ता काम गर्दै आइरहेको छ ।