गैँडाकोटमा वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुँदै
नवलपुर । गैँडाकोटमा वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । गैँडाकोट फुटबल क्लबको आयोजनामा यही पुस २९ देखि माघ ५ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
युवाहरुलाई फुटबलको माध्यमबाट अनुशासित बनाउँदै धुम्रपान, मध्यपान तथा लागुपदार्थ दुव्र्यसनीबाट जोगाइ सक्षम नागरिक तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । क्लबका अध्यक्ष सुदन पराजुलीले प्रतियोगिताबाट वडामा भएका दक्ष पुरुष तथा महिला फुटबल खेलाडी छनौट गरी नगरपालिकाको पुरुष तथा महिला फुटबल टिम तयार पारिने बताउनुभयो । युवा खेलाडीहरुलाई छनौट गरी व्यावसायिक खेलाडी उत्पादन गर्न प्रेरित गर्नसमेत प्रतियोगिता आयोजना गरिएको पराजुलीको भनाई छ ।
गैँडाकोट-९ थुम्सीस्थित नवजागरण खेलकुद मैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १५ टिम तथा महिलातर्फ ८ टिम सहभागी रहने पराजुलीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फको विजेता टिमलाई रु ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा महिलातर्फ विजेता हुने टिमलाई रु २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, पुरुषतर्फ दोस्रो हुने टिमलाई रु ३३ हजार तथा महिलातर्फको दोस्रो हुने टिमलाई रु १५ हजार पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रत्येक खेलको म्यान अफ दी म्याचलाई रु दुई हजार पाँच सय पचास, प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोल रक्षक, उच्च गोलकर्तालाई समेत पुरस्कृत गरिने पराजुलीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा गैँडाकोट खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले नगरपालिकाभित्रको खेलकुदको विकासका लागि समितिले काम गर्दै आएको बताउनुभयो । आफूहरुले चाँडै नै गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको समेत सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर खेलकुद समितीका सदस्य रोशन दर्लामी मगर तथा गण्डकी प्रदेश क्रिकेट संघका उपाध्यक्ष एवं नगर खेलकुद समितीका सदस्य प्रकाश पौडेलले खेलकुदको प्रवद्र्धनमार्फत गैंडाकोट नगरपालिकालाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सकिने उल्लेख गर्दै यसका लागि स्थानीय तहबाट निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो । साथै, खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउने भएकाले यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिनुभयो ।
गैंडाकोट फुटबल क्लबका सहसंयोजक तथा खेल संयोजक प्रशान्त रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको गैंडाकोट फुटबल क्लबका सदस्य कुशल सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर खेलकुद समितीका सदस्य कोपिला मगर, खेलकुदप्रेमी सुमन घिमिरे, नवजागरण ग्रामिण विकास केन्द्रका सदस्य कुलप्रसाद सापकोटा राजु लगायत खेलकुदप्रेमीहरुको उपस्थिती रहेको थियो ।