विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीको २५ औँ वार्षिक साधारण सभा, विजय समाजमा स्थापित अब्बल सञ्चार माध्यम बन्दै
गैँडाकोट । विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको २५ औँ वार्षिक साधारण सभामा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदन भक्त अधिकारिले विजय एफएम समाजमा स्थापित बनी अब्बल बनेको बताउनुभयो । उहाँले कार्यक्रम र समाचार मार्फत सत्य, तथ्य खबर नागरिकलाई सुसुचित गरेको बताउनुभयो । उहाँले समाजलाई बुझेर सञ्चारको मर्मलाई बुझेर प्रसारित र प्रकाशित हुने सञ्चार जगतमा विजयले छुट्टै छाप बनाउन सफल भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले रेडियोलाई समयानुकुल र प्रविधिमैत्री बनाउँदै अगाडी लैजाने बताउनुभएको छ । उहाँले नागरिकको विश्वास अझै पनि रेडियोमा रहेको र सहज पहुँचका लागि अनलाइन संस्करणलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
सचीवको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यसमिति सदस्य शान्ति भुसाल आचार्यले रेडियोलाई फरक रुपमा समुदायमा स्थापित गर्ने गरि काम गरिरहेको बताउनुभयो । उहाँले सचेतना जगाउने, जानकारी दिने, सत्य, तथ्य खबर, समाचार र कार्यक्रम मार्फत दिइरहेको बताउनुभयो । समुदायमा भ्रामक सूचनाबाट नागरिकलाई सचेत बनाउने कार्यक्रम पनि संस्थाले गरिरहेको बताउनुभयो ।
कोषाध्यक्ष बिष्णुमाया पन्थिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समाजमा सुशासन स्थापित गर्न नागरिकलाई सचेत बनाइ सवाल गर्न सक्ने बनाउन भुमिका खेलिरहेको बताउनुभयो । समाजमा विश्वसनियताको छाप बनाउन सकेको समेत उहाँले बताउनुभयो । श्रोता र पाठकको जीवनमा पारेको प्रभाव र विश्वास नै संस्थाको पूँजी भएको उहाँको भनाई छ ।
लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन समितिका संयोजक बद्रीनाथ लम्सालले प्रस्तुत गर्नुभएको थियो । उहाले बिज्ञापन बजारमा देखिएको समस्याका बाबजुत संस्था अगाडि बढेको देखिएको बताउनुभयो । स्थानीय ३० भन्दा बढी संघ सस्थासँग सहकार्य गरेर अगाडि बढेको राम्रो पक्ष रहेकाले अझै सहकार्य बढाउन आवश्यक भएको बताउनुभयो । उहाँले समाचार बिक्ने र भाइरल हुने भन्दा धेरै समाजलाइ बुझी टिक्ने तवरले पत्रकारिता गर्नु सबैभन्दा राम्रो कुरा भएको बताउनुभयो ।
गैँडाकोट वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले विजय एफएमले समुदायमा गरेका काम र सचेतनाका लागि गरेका काम देखेर विभिन्न सस्थामा हुदा सहकार्य गरेको बताउनुभयो । नगरपालिका, वडा कार्यालय र विभिन्न सस्थाका काम र समन्वय, दिने र पाउने सेवाका बारेमा जानकारी गराउने काम गरेको बताउनुभयो । आगामी दिनमा सहयोग बढाउने र सहकार्य गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
गैँडाकोट नगरपालिका सहकारी शाखाका प्रमुख देबेन्द्र गौतमले अहिलेको समयमा कतिपय भ्रामक, भाइरल हुने नाममा आउने जानकारी लाई चिर्न पनि विजय एफएम जस्ता सस्था आवश्यक रहेको पनि बताउनुभयो । उहाँले नगरपालिका र शाखाकोतर्फबाट सक्दो सहकार्य र सहयोग गर्ने बताउनुभयो ।
विकु साकोसका अध्यक्ष प्रेम प्रसाद सापकोटा राजुले रेडियो सेवा भावले काम गरेको संस्था भएको र भ्रामक कुरा चिर्न पनि विजय एफएम जस्ता संस्था चाहिने बताउनुभयो । उहाँले अब सस्थाको मर्म बुझेर बुझाउन पनि आवश्यक भएको बताउनुभयो । अहिलेको समयमा रुचि र स्वाभाव परिवर्तन भएको र खोजमुलक रिपोर्ट समाचार र कार्यक्रम ल्याउन सके रेडियो सबैको रोजाइ बन्ने बताउनुभयो ।
व्यवसायी एवं समाजसेवी सिद्धकुमार श्रेष्ठले आर्थिक रुपमा सबल बन्ने र यस स्थानको पहिचान बनाएको यस संस्थालाई उकास्ने सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक क्षेत्र, बर्ग, उमेर सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडसँगको सहकार्य, सहयोग र समन्वयका लागि गैँडाकोट नगरपालिका र गैँडाकोट वडा नम्बर १ लाई सम्मानित गरिएको थियो ।
संस्थाका उपाध्यक्ष गिरीराज लम्सालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संस्थाका सदस्य गोकुल भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
सत्य, तथ्य, सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो । संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको छ ।