स्याङ्गजा नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठानको नयाँ समितीमा पदमराज काफ्ले चयन

२०८२ पौष १९ शनिबार १९:१७:०० मा प्रकाशित

गैंडाकोट । स्याङ्गजा नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान नवलपरासी बर्दघाट सुस्ता पूर्वको साधारण सभा तथा दोस्रो गैँडाकोट नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । गैँडाकोट-२ स्थित होटल द मानसरोबरमा सम्पन्न अधिवेशनले पदमराज काफ्लेको अध्यक्षतामा १३ सदस्यीय नगर समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा केशवप्रसाद तिवारी, भगवान काफ्ले, सचिवमा रामप्रसाद पोखरेल, सहसचिवमा कुलप्रसाद पौडेल, कोषाध्यक्षमा अस्मिता पौडेल चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा कृष्णकुमारी भट्टराई, धर्मदत्त वाग्ले, यदु रिमाल, अशोक तिवारी, टिकाराम वाग्ले, खिमलाल लामिछाने र देवकी ढकाल रहनुभएको छ ।


कार्यक्रममा समाजका जिल्ला अध्यक्ष देवराज भट्टराईले आफ्ना अग्रजहरूले दुःख-कष्टका साथ स्थापना गरेको संस्थाको संरक्षण र प्रवद्र्धन गर्नु अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले स्याङ्गजाबाट बसाइँ सरेर नवलपरासी आएका सम्पूर्ण बासिन्दालाई एकताबद्ध गर्ने उद्देश्यले वि.सं. २०६८ मा स्थापना भएको यस संस्था निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको उल्लेख गर्नुभयो।


जिल्ला मात्र नभई पालिका तहसम्म संस्थाको पहुँच विस्तार गर्ने तयारीमा समाज अघि बढिरहेको बताउँदै उहाँले स्याङ्गजाली समुदायले सञ्चालन गरेका व्यापार, व्यवसाय तथा विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आपसी आत्मीयता बढाउन आग्रह गर्नुभयो । आफ्नो पहिलो थलो स्या∙जा भएको हुँदा त्यसको स्मरण र सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 


कार्यक्रममा संस्थाका अध्यक्ष जनकलाल तिवारीले उमेर बढ्दै जाँदा आफ्नो जन्मथलो, मठमन्दिर, संस्कार, संस्कृति र धर्मको खोजी हुने बताउनुभयो। यस्ता पहिचानको संरक्षण र निरन्तरताका लागि समाजले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ थियो ।


शुभकामना मन्तव्य राख्दै गैँडाकोट वडा नं. ६ का वडाध्यक्ष सुवास चापागाई, समाजका संस्थापक अध्यक्ष ऋषिराम कंडेल, वडा नं. ९ का वडा सदस्य ज्ञानप्रसाद खनाललगायतले फरक–फरक सोच र विचार भएका व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्न समाज सफल भएको उल्लेख गर्नुभयो । आफ्नो जन्मथलो कहिल्यै बिर्सन नहुने र स्याङ्गजाली भनेर चिनाउन गर्व गर्नुपर्ने उनीहरूको धारणा थियो ।


स्याङ्गजा नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठानका कोषाध्यक्ष षडानन्द लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको शिक्षक हिमालदेव पंगेनीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्याङ्गजाका विभिन्न स्थानबाट बसाइँ सरी नवलपरासी आएका समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
 

ताजा खबर