ए.आई मार्फत शिक्षणमा रुपान्तरण गर्न नवलपुरका शिक्षक तयार

२०८२ पौष १९ शनिबार १७:३०:०० मा प्रकाशित

नवलपुर । नेपाल शिक्षक संघ गण्डकी प्रदेश कार्यसमितिको आयोजना तथा नेपाल शिक्षक संघ नवलपुर कार्य समितिको व्यवस्थापनमा शिक्षकहरुका लागि ए.आई. मार्फत शिक्षणमा रुपान्तरणका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  सो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नवलपुर जिल्लाका ७० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

प्रशिक्षणमा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधि समिति गण्डकी प्रदेशका संयोजक श्रीकृष्ण आचार्य र सूचना सञ्चार तथा प्रविधि समिति गण्डकी प्रदेशका सह संयोजक दिपेन्द्र बस्ताकोटीले सहभागी शिक्षकहरुलाई शिक्षण सिकाइमा ए.आईको प्रयोगका बारेमा प्रशिक्षण दिनुभएको थियो । सो तालिममा सहभागी शिक्षकहरुले आँफूले सिकेका विषयवस्तु पालिकाभित्र पुर्याउन र कक्षाकोठा शिक्षणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रदेश सदस्य माननीय महेन्द्रध्वज जि.सीले अबको शिक्षक प्रविधिमैत्री बन्नुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले शिक्षण सिकाइमा ए.आई. अपरिहार्य हुँदै गएको हुँदा ए.आईको ज्ञान शिक्षकका लागि आवश्यक रहेको कुरामा जोड दिनुभयो ।


सो कार्यक्रमका विशिष्ट अतिथि गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमप्रसाद आचार्यले शिक्षकहरुको क्षमता विकास र प्रविधिमैत्री बनाउन गैँडाकोट नगरपालिका यहाँका पेशागत संस्थाहरुसँग सहकार्य तयार रहेको कुरा बताउनुभयो । सो अबसरमा नेपाल शिक्षक संघ गैँडाकोट नगर समितिले गैँडाकोट नगरपालिकामा सरुवा भई आउनुभएका शाखा प्रमुख खेमप्रसाद आचार्यलाई स्वागत तथा सम्मान गरिएको थियो ।


सो  कार्यक्रममा सहभागीको तर्फबाट नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष राधा तिवारीले अनुभव मन्तव्य राख्नुभएको थियो । त्यसैगरी जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, जनक नमुना माध्यमिक विद्यालयका अध्यक्ष केशवप्रसाद सापकोटा, नेपाल शिक्षक संघ नवलपुर कार्यसमितिका सचिव तिलकराम पाण्डे, नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेशका उपाध्यक्ष बलराम रानाभाट, नेपाल शिक्षक संघ गण्डकी प्रदेश उपाध्यक्ष बिष्णुप्रसाद रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अध्यक्ष इन्द्रराज भट्टराईको अध्यक्षतामा सम्पन्नमा सम्पन्न सो कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ गण्डकी प्रदेश सदस्य तथा सूचना तथा सञ्चार विभाग गण्डकी प्रदेश सदस्य गोविन्द रिमालले सहजीकरण गर्नुभएको थियो ।

 

कार्यक्रम नेपाल शिक्षक संघ गण्डकी प्रदेश सदस्य तथा सूचना तथा सञ्चार विभाग गण्डकी प्रदेश सदस्य गोविन्द रिमाल संयोजन र नेपाल शिक्षक संघ गैँडाकोट नगर सचिव मोहन भण्डारी र पूर्व सचिव जगन्नाथ उपाध्यायको व्यवस्थापन सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

ताजा खबर