बर्दिवासमा नाबालिकामाथि यौन हिंसाः धम्की र प्रलोभनबिच ढाकछोप प्रयास
गौशाला (महोत्तरी) । महोत्तरीको बर्दिवासमा एक नाबालिकामाथि भएको बलात्कारको घटना एक सातापछि खुलेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार बर्दिवास नगरपालिका-१२ मा नाबालिकामाथि भएको बलात्कारको घटना एक सातासम्म लुकाइएपछि मात्र सार्वजनिक भएको हो । गाउँमै मिलाउने नाममा पीडित परिवारलाई धम्की र आर्थिक प्रलोभन दिँदै आएका मुख्य आरोपीलाई प्रहरीले छलफल चलिरहेकै अवस्थामा पक्राउ गरेपछि घटना बाहिर आएको हो ।
पीडित बालिकाका अनुसार गत शुक्रबार विद्यालयबाट घर फर्किएपछि किताब राखेर खेतमा काम गर्न जाँदा छिमेकी राजेन्द्र महतोले ‘माया गर्छु, पैसा पनि दिन्छु’ भन्दै बलात्कार गरेका थिए । घटनाका बेला खेतमा मल लिएर पुगेकी आमाले छोरीले रोइकराई रहेको सुनेर हेर्दा आरोपी भागेका थिए र आफूले छोरीलाई सम्हाल्दै घर ल्याइएको पीडितकी आमाले बताइन् ।
घटना कसैलाई बताएमा बदनाम हुने र ज्यान मार्ने धम्की दिँदै चुप लाग्न दबाब दिइएको पीडित पक्षको भनाइ छ । घटनाकै राति आरोपी पक्षका मानिसहरू घरमै आएर डर धाक धम्की दिएर प्रहरीमा उजुरी दिन खोज्दा ज्यानले मार्ने भन्दै धम्क्याइएको आमाले जानकारी दिनुसभयो ।
धम्कीका साथै ६ लाख रुपियाँसम्मको प्रलोभन देखाएर घटना मिलाउन दबाब दिइएको र बाटो छेकेरै छलफलमा बस्न बाध्य पारिएको पीडित परिवारको आरोप छ । बिहीबार दिउँसो करिब २ बजे २०-२५ जनाले घेराबन्दी गरी सहमति गर्न दबाब दिइरहेका बेला इलाका प्रहरी कार्यालय बर्दिवासले आरोपित बर्दिवास-१२ बस्ने राजेन्द्र महतोलाई पक्राउ गरेको हो । बिहीबार नै पीडितले दिएको जाहेरी अनुसार महतोलाई शुक्रबार ३ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।