नदीको सभ्यता जोगाउन देवघाटलाई प्लास्टिकमुक्त बनाइँदै
नवलपरासी पूर्व । पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन देवघाट क्षेत्र विकास समिति र गैँडाकोटको सहमति संस्थाले गृहकार्य गरिरहेका छन् । बिहिबार देवघाटमा पत्रकारहरुसँगको भेटघाटमा देवघाटधामलाई प्लास्टिकमुक्त घोषणा गर्ने मिति तय नभएपनि पूर्वतयारीहरु भइरहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो ।
त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लास्टिकजन्य फोहर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्न अभियान सुरु गरिएको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो । देवघाट क्षेत्रभित्र प्लास्टिकलाई निरुत्साहन गर्न नीतिगत तथा प्राविधिक रुपमा सहमतिले सहयोग गर्दै आएको अध्यक्ष सुवेदीले बताउनुभयो । नदीसँगै हामी अभियान अन्तर्गत नदीको सरसफाइ अन्तर्गत ६ हजार ५ सय किलो फोहोर संकलन गरिएको बताउनुभयो । फोहोर व्यवस्थापन चुनौती बन्दै जाने अवस्था देखिएको छ बेलैमा पालिकाहरु सच्चिन आवश्यक भएको पनि सुवेदीले बताउनुभएको छ ।

नवलपुर, तनहुँ र चितवनमा पर्ने यस पवित्र तीर्थस्थलमा टाढाटाढाबाट तीर्थालु आउने गरेका भन्दै अभियानले नदीलाई सफा र हराभरा रुपमा बग्न मद्दत गर्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीले बताउनुभयो । तीर्थस्थल देवघाटधामलाई स्वच्छ राख्नु हामी सबैको कर्तव्य र सहमति संस्थाले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभएको छ ।
देवघाटलाई प्लाष्टिक मुक्त गराउने अभियानलाई देवघाटसँग जोडिएका तीन वटै जिल्लाका पालिकाबाट सहयोग रहेको र यसको निरन्तरताका लागि पनि सहयोग प्राप्त हुने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताउनुभयो ।

देवघाटलाई प्लास्टिकमुक्त बनाउनका लागि विभिन्न ठाउँमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको छ । तीर्थालुहरुलाई कपडाको झोला वितरण थालिएको छ । देवघाटधाम क्षेत्रमा प्लाष्टिक निषेध गरिएको छ ।
देवघाट क्षेत्र निषेधित क्षेत्र स्थापनाका कार्यविधिको मस्यौदापत्र सहमति संस्थाले तयार गरेर देवघाट क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको छ । मस्यौदाका बारेमा सहमति संस्थाका प्रतिनिधि तारानाथ सुवेदी र नवलपुर तर्फ नारायणी नदीको फाहोरको परीक्षण रिपोर्ट वेटर चितवनका संस्थापक सागर कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
सहमतिले डब्लु डब्लु एफ नेपालसँगको सहकार्यमा प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजना चितवन जिल्लाको खगेरी जलाधार क्षेत्रमा र नवलपुर जिल्लाको गिन्द्री जलाधार क्षेत्रमा कार्यान्वयनमा आइरहेको छ । यस परियोजनाले समुदायको समुन्नति र समृद्ध जैविक विविधतालाई संरक्षण गर्दै जलवायु उत्थानशिल र स्वच्छ नारायणी निर्माणमा योगदान पु¥याउने लक्ष्य राखेको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताएका छन् । पर्यावरण संरक्षणमा सहमतिको सहकार्यका कारण दुइ दर्जनबढी संरक्षण पोखरीहरुले पारिस्थितिक प्रणालीलाई प्रवर्धन गर्ने, जैविक विविधतालाई सहयोग गर्ने र वन इकोसिस्टमको समग्र स्वास्थ्य र कार्यक्षमता बढाएको छ ।