विजय सामुदायिक शिक्षा सहकारीको २५ औँ साधारण सभा सम्पन्न

२०८२ मङ्सिर २० शनिबार १९:१०:०० मा प्रकाशित

गैंडाकोट । विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडको २५ औँ साधारण सभा शनिबार गैंडाकोट–८ स्थित विजय सामुदायिक शिक्षा सदनको सभाहलमा सम्पन्न भएको छ।


कार्यक्रममा सहकारीका अध्यक्ष परमेश आचार्यले विद्यालय सञ्चालनसँग सम्बन्धित कानुनी अवरोधका कारण शिक्षा सदन प्रा.लिका सेयर सदस्यहरुलाई बिक्री गरी विद्यालयको जिम्मा उक्त कम्पनीलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो। आगामी दिनमा पनि सहकारीको सम्पत्तीहरु यसै साधारण सभाको म्यान्डेटअनुसार सदनलाई कानुनी प्रक्रियाअनुसार दिइने जानकारी दिनुभयो ।  

आर्थिक वर्ष ०८१÷८२ को प्रगति प्रतिवेदन तथा ०८२÷८३ को प्रस्तावित बजेट प्रस्तुत गर्दै कोषाध्यक्ष लक्ष्मण कार्कीले गत वर्षको जगेडा कोष १ करोड ५१ लाख ९७ हजार ७ सय ५२ बाट वृद्धि भएर यो वर्ष १ करोड ६४ लाख ८७ हजार २ सय ४ पुगेको बताउनुभयो। अन्य कोषहरू ७२ लाख ८१ हजार २ सय ४० पुगेका छन्। सहकारीले चालु वर्षमा ९१ लाख २५ हजार ३४ आम्दानी र ३९ लाख ६७ हजार २ सय २७ खर्च गरेको छ  भने ५१ लाख ५७ हजार ८ सय ७ रुपैयाँ बचत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


त्यस्तै, वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै सचिव वीरभद्र सापकोटाले सहकारीले कम्पनीमार्फत विद्यालय सञ्चालन गर्न कानुनी प्रावधान रहेको बताउनुभयो। उहाँले अध्ययन तथा अवलोकन भ्रमण आयोजना गरिएको, माविको ब्लकको उत्तरतर्फको कम्पाउण्ड निर्माण कार्य अगाडि बढाइएको जानकारी दिनुभयो।


लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक रघुनाथ कँडेलले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, पूर्व अध्यक्ष माधव प्रसाद पौडेल, विकु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, समाजसेवी सिद्ध कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा गैंडाकोट-५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, समाजसेवी ओमप्रकाश सापकोटा, वडा–१ का पूर्व अध्यक्ष हरीप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा संस्थाका उपाध्यक्ष उमा कुमारी पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव वीरभद्र सापकोटाले सहजीकरण  गर्नुभएको थियो ।