सापकोटा कुलदेव मन्दिर गैँडाकोट–८को ४९ औँ साधारण सभा तथा वार्षिक कुलपूजा सम्पन्न
गैँडाकोट । सापकोटा कुलदेव मन्दिरको ४९ औँ साधारण सभा तथा वार्षिक कुलपूजा कार्यक्रम बिहिबार गैंडाकोट–८ स्थित मन्दिर परिसरमा वरिष्ठ सदस्य होमनाथ सापकोटाको सभाध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धार्मिक व्यक्तित्व शालिकराम सापकोटाले सुसंस्कारयुक्त समाज निर्माणका लागि आध्यात्मिक र नैतिक शिक्षाको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले हाम्रा पुर्खाले जोगाइराखेको धर्म–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा युवा पुस्ता अग्रसर हुनुपर्ने बताउँदै सबैमा कुलपूजाको शुभकामना दिनुभयो ।
कार्यक्रममा सचिव नारायण प्रसाद सापकोटाले आर्थिक वर्ष २०८१–८२ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८२–८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। त्यस्तै, कोषाध्यक्ष लोकनाथ सापकोटाले आर्थिक वर्ष २०८१–८२ को वास्तविक आय–व्यय तथा २०८२–८३ को अनुमानित आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभयो। लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य जनक सापकोटाले प्रस्तुत गर्नुभयो।

कार्यक्रममा चौरासी पूजा सम्पन्न गरेका बन्दुवान्धवलाई सम्मान गरिएको थियो। सो अवसरमा मन्दिरका निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटा, गैंडाकोट–८ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा, गैंडाकोट नगरपालिकाकी निवर्तमान उपमेयर विष्णु कुमारी कंडेल, सल्लाहकार समिति संयोजक ओमप्रकाश सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
मन्दिरका कार्य समिति सदस्य छविलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण मन्दिरका पूर्व सचिव हिमलाल सापकोटाले गर्नुभएको थियो।